Logo

२९ असार, वीरगञ्ज । नेपालमा मनसुनी वायु थप शक्तिशाली बनेसँगै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि सरेर मधेस प्रदेशसहित नेपालको तराई भू-भाग नजिक आइपुगेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यो मौसमी प्रणालीका कारण हाल देशभरको मौसममा पूर्ण बदली आई मधेससहित सबै प्रदेशमा वर्षाको क्रम सुरु भएको छ ।

हाल मधेस र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार सोमबार मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने देखिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने मौसम साधारणतया बदली रहने अनुमान गरिएको छ।

वर्षा र हिमपातको कुरा गर्दा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका धेरै ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा एवं हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । यसैगरी मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र र कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानमा पनि मेघगर्जनसहित मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले उल्लेख गरेको छ ।

विशेष गरी मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशकै पहाडी भू-भागको थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

न्यून चापीय रेखा मधेस र समग्र तराई क्षेत्र आसपासमै रहेकाले तराईका भू-भागमा बाढी, डुबान र चट्याङको जोखिम उच्च रहेको छ । मौसमविद्हरूले भारी वर्षाका कारण नदी तटीय क्षेत्र र होचो भू-भागमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीमा रहन स्थानीय प्रशासन तथा सर्वसाधारणलाई आग्रह गरेका छन् ।


सम्बन्धित समाचार