२० वैशाख, काठमाडौं । सगरमाथाको आधार शिविरबाट क्याम्प १ तर्फ जाने बाटोमा एउटा बेवारिसे शव फेला परेको छ ।
हिउँले आधा पुरिएको अवस्थामा भेटिएको उक्त शव ‘आइसफल डाक्टरहरूले बाटो निर्माण गर्ने क्रममा खुम्बु आइसफल क्षेत्रमा फेला पारेका हुन् । मुख्य आरोहण मार्गमै शव भेटिएपछि यसले आरोहीहरूको सुरक्षा र वातावरणीय सरसफाइमा चुनौती थपेको थियो, जसका कारण पर्यट विभागको आग्रहमा नेपाल पर्वतारोहण संघले तत्काल व्यवस्थापनको प्रक्रिया अघि बढाएको हो ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष फुरगेल्जे शेर्पाका अनुसार उक्त शवलाई निकाल्न सगरमाथा प्रदूषण नियन्त्रण समितिको सहयोगमा अनुभवी शेर्पा आरोहीहरूको टोली परिचालन गरिएको थियो ।
निकै मेहनतका साथ अप्रिल २९ मा निकालिएको उक्त Khumbu-Icefallशवलाई मे १ मा हेलिकप्टरमार्फत लुक्ला पुर्याइएको छ । हाल शवलाई काठमाडौंको शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ भने यसको पहिचान खुल्न बाँकी नै छ ।
हिउँ पग्लेर पुरानो शव देखिएको हो वा हालैको दुर्घटना हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।


















