Logo

१० जेठ,काठमाडौं ।  लायन्स क्लब काठमाडौं ब्लडहुडका संस्थापक तथा कार्यकारिणी सदस्य सेनसी पैमा वेईबाले पुनः सगरमाथाको सफल आरोहण गर्दै लायन्स इन्टरनेशनलको चिन्ह अंकित झण्डा विश्वको सर्वोच्च शिखरमा फहराएका छन्। समुद्री सतहबाट ८ हजार ८४८ मिटर उचाइमा पुगेका वेईबाले दोस्रो पटक लायन्सको झण्डा सगरमाथामा पुर्‍याउन सफल भएका हुन्।

लायन्स डिस्ट्रिक्ट 325 केका डिस्ट्रिक्ट गभर्नर दुर्गा प्रसाद हुमागाईंको कार्यकालमा सम्पन्न यस उपलब्धिलाई लायन्स समुदायले ऐतिहासिक उपलब्धिका रूपमा लिएको छ। पर्वतारोही पैमा वेईबाले हालसम्म तीन पटक सफलतापूर्वक सगरमाथा आरोहण गरिसकेका छन्।

यस अवसरमा नेपालबाट पहिलो पटक निर्वाचित लायन्स अन्तर्राष्ट्रिय निर्देशक ई. संजय खेतान, पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटी, प्रस्तावित अन्तर्राष्ट्रिय निर्देशक राजन लम्साल, मल्टिपल काउन्सिल चेयरम्यान मिलन थापा, विभिन्न डिस्ट्रिक्ट गभर्नर, नवनिर्वाचित गभर्नर, वरिष्ठ लायन्स सदस्य तथा नेपालभर रहेका करिब ५० हजार लायन्स–लियो सदस्यहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। भारत लगायत विभिन्न देशबाट पनि शुभकामना सन्देश प्राप्त भएको जनाइएको छ।

क्लबका संस्थापक अध्यक्ष राजीव श्रेष्ठले “रक्तदान–जीवनदान” अभियानको सन्देश बोकेको क्लबको झण्डा विश्वकै सर्वोच्च शिखरमा देख्न पाउँदा आफूहरू अत्यन्त गौरवान्वित भएको बताए।

लायन्स समुदायका अनुसार यस सफल अभियानले नेपाललाई मात्र नभई विश्वभरका लायन्स सदस्यहरूमा खुशी, उत्साह र प्रेरणा प्रदान गरेको छ।


सम्बन्धित समाचार
भर्खरै