५ वैशाख, (माडी) चितवन। माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोको ‘एकलौटी निर्णय’ र ‘राजनीतिक दम्भ’ का कारण ‘तेश्रो माडी सांस्कृतिक तथा पर्यटन उत्सव–२०८३’ सुरुवातमै असफल सावित भएको छ।
माडीका प्रमुख राजनीतिक दल, उद्योग वाणिज्य संघ र नागरिक समाजलाई पूर्ण रूपमा उपेक्षा (बाइपास) गरेर विवादास्पद संस्थालाई मेला लगाउने अनुमति दिएपछि अहिले महोत्सव स्थल सुनसान बनेको छ भने मेयर महतोको कार्यशैलीको कडा आलोचना भइरहेको छ।
माडीमा क्रियाशील प्रमुख राजनीतिक दलका नेताहरूले नगरपालिकाले जिम्मेवार भूमिका निर्वाह गर्न नसक्दा महोत्सव विवादित बनेको निष्कर्ष निकालेका छन् । उनीहरूले माडीको मौलिक पहिचान, भाषा, संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने नाममा बाह्य संस्कृतिलाई बढावा दिन खोजिएको भन्दै गम्भीर असहमति जनाएका छन् ।
गत वर्ष नै ७ लाखमा वीरगञ्जको एक निजी कम्पनीलाई महोत्सव बेचेर विवादमा आएको ‘माडी कला केन्द्र’ लाई नै पुनः यस पटक ६ लाख रुपैयाँमा ठेक्का सुम्पने अनुमति दिएपछि मेयर महतोमाथि प्रश्न उठेको छ। गैरसरकारी संस्थाले इजाजत लिने र निजी कम्पनीलाई नाफा-घाटाको सर्तमा ‘नगद’ लिएर ठेक्का बेच्नु गैरकानूनी भए पनि मेयर महतोले यसलाई प्रश्रय दिएको दलहरूको आरोप छ।
महोत्सवमा स्थानीय उद्योगी व्यवसायीहरूको पूर्ण बहिस्कारले पनि विवादलाई थप चर्काएको छ । माडी उद्योग वाणिज्य संघ तथा मातहतका बस्तुगत संघहरूले निर्णय नै गरेर सहभागिता नजनाउने घोषणा गरेका छन् । परिणामस्वरूप, वैशाख ३ गतेदेखि सुरु भएको महोत्सवमा दर्शकको उपस्थिति न्यून देखिएको छ ।
मौलिकता हरायो, व्यापार मात्रै रह्यो
महोत्सवको नाम सांस्कृतिक तथा पर्यटनु राखिए पनि यसले माडीको वास्तविक पहिचानलाई पूर्णतः लत्याएको छ। माडीको मुख्य आधार मानिएको धार्मिक पर्यटन, आधुनिक कृषि, यहाँका चर्चित होमस्टेहरू र स्थानीय भाषा, कला तथा संस्कृतिको पहिचान झल्काउने कुनै पनि ठोस कार्यक्रम महोत्सवमा राखिएको छैन।
माडीको सांस्कृतिक विरासतलाई प्रवर्द्धन गर्नुको साटो आयातित र सस्ता मनोरञ्जनात्मक कार्यक्रमलाई प्राथमिकता दिएर व्यापार मात्र गर्न खोजिएको भन्दै स्थानीय रुष्ट भएका छन्। मेयरको ‘म नै सर्वेसर्वा हुँ’ भन्ने शैलीले गर्दा एकातिर माडीको सार्वजनिक सम्पत्ति दुरुपयोग भएको छ भने अर्कोतर्फ माडीको कृषि र पर्यटन क्षेत्रको अपमान भएको विश्लेषण गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी माडी नगरकमिटीका सभापति नारायण रिजालले महोत्सव अघि कुनै पनि राजनीतिक दलसँग परामर्श नगरिएको आरोप लगाए । “नगरपालिकाले कसैसँग सल्लाह नगरी जिम्मेवारी दिएको छ, यो नै समस्या सुरु हुने मुख्य कारण हो,” उनले भने । रिजालले महोत्सवमा मदिराजन्य पदार्थको विज्ञापन र बियरका डमी प्रदर्शन गरिनु कानूनी रूपमा गलत भएको पनि औंल्याए ।
नेपाली कांग्रेस माडी नगरसमितिका सभापति कमल भुषालले निजी स्वार्थका लागि महोत्सवको प्रयोग गरिएको आरोप लगाए । “माडीको बृहत्तर हितभन्दा केही व्यक्तिको स्वार्थ हावी देखियो,” उनले भने, “नगरपालिकाले आफैं नेतृत्व गर्नुपर्नेमा विवादित संस्थालाई जिम्मा दिनु गलत निर्णय हो ।”
नेकपा एमाले माडी नगरकमिटीका अध्यक्ष नारायण अधिकारीले महोत्सवले स्थानीय धार्मिक, कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा आयातित संस्कृतिलाई बढावा दिएको बताए । “यसलाई केही व्यक्तिको कमाउने थलो बनाउने प्रयास भएको छ,” उनले आरोप लगाए ।
नेपाली कम्युनिष्ट पार्टी माडी नगरकमिटीका अध्यक्ष भरत तिमिल्सीनाले पनि नगरपालिकाको समयमै ध्यान नपुगेका कारण समस्या चर्किएको बताए । “धेरै पक्ष असन्तुष्ट छन्, अब कमजोरी सच्याएर सबैले अपनत्व लिने वातावरण बनाउनुपर्छ,” उनले भने ।
नेपाली कांग्रेसका नेता तथा समाजसेवी शोभाकर चापागाईंले मेला महोत्सवबाट स्थानीय उद्योगी, व्यवसायी र सर्वसाधारणलाई कुनै लाभ नपुग्ने दाबी गरे । “यो पूर्ण रूपमा व्यापारीक मेला जस्तो देखियो,” उनले भने, “विवादित संस्थालाई पुनः इजाजत दिनु मेयरको कमजोरी हो ।”
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता तथा व्यवसायी रामचन्द्र लम्सालले प्रारम्भमै निर्णय गर्दा पर्याप्त सोच विचार नगरेको आरोप लगाए । “इजाजत दिने बेलामै गम्भीरता देखाउनुपर्थ्यो, अहिले आएर समस्या समाधान गर्न संवाद आवश्यक छ,” उनले भने ।
समग्रमा, माडी नगरपालिकाकी मेयर महतोले राजनीतिक दल, उद्योगी व्यवसायी र नागरिक समाजलाई बेवास्ता गर्दै अघि बढाएको निर्णयले महोत्सवलाई विवाद र असफलताको दिशातर्फ धकेलेको देखिएको छ । स्थानीय सरोकारवालाको सहभागिता र अपनत्वबिना गरिएका यस्ता कार्यक्रम अन्ततः विवादकाे घेराभित्र हुने खतरा बढ्दै गएको छ ।




















