Logo

३१ बैशाख, काठमाडौँ । मुलुककै जेठो र ठुलो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि) को निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा. सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ ।

अध्यादेशमार्फत विश्वविद्यालयका सबै पदाधिकारीहरू पदमुक्त भएपछि प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाह (बालेन) ले बज्राचार्यलाई विश्वविद्यालयको दैनिक कार्यसम्पादन सम्हाल्ने गरी यो जिम्मेवारी सुम्पिनुभएको हो ।

यसअघि, सरकारले अध्यादेश जारी गर्ने तयारी गरिरहँदा उपकुलपति प्रा.डा. दीपक अर्यालले आफ्नो पदबाट राजीनामा दिनुभएको थियो । उहाँको राजीनामासँगै शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले पनि सामूहिक रूपमा पद त्याग गरेपछि विश्वविद्यालय पूर्ण रूपमा नेतृत्वविहीन बन्न पुगेको थियो ।

प्रशासनिक र शैक्षिक गतिविधिहरू ठप्प हुने अवस्था आएपछि कुलपतिले डीनहरूमध्येबाट वरिष्ठता र दक्षताका आधारमा बज्राचार्यलाई निमित्तको कमान्ड सुम्पिनुभएको बुझिएको छ ।

निमित्त नेतृत्वको चयनसँगै सरकारले विश्वविद्यालयमा स्थायी उपकुलपति नियुक्तिको प्रक्रियालाई पनि तीव्रता दिएको छ । उपकुलपति छनोटका लागि सिफारिस समिति गठन भई नयाँ नेतृत्वका लागि सार्वजनिक आवेदन समेत आह्वान गरिसकिएको छ ।

इच्छुक उम्मेदवारहरूलाई १० दिनको समय सीमाभित्र आवेदन दिन सूचित गरिएको छ । नयाँ उपकुलपति चयन नहुन्जेलसम्मका लागि बज्राचार्यले त्रिविको चुनौतीपूर्ण नेतृत्व सम्हाल्नुहुनेछ ।


सम्बन्धित समाचार