Logo

३१ बैशाख, काठमाडौं । नेपालको सेयर बजारमा लगातार तेस्रो दिन पनि गिरावट देखिएको छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १० अंकले ओरालो लागेर २७३० को बिन्दुमा समेटिएको छ । यसअघि मंगलबार ३९ अंक र बुधबार ४ अंकले घटेको बजारले बिहीबार पनि सोही लयलाई पछ्याएको हो ।

बजार परिसूचक घटे पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सुधार देखिएको छ। बुधबार २ अर्ब ८० करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा बिहीबार ३ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजारमा रहेका १३ उपसमूहमध्ये बिहीबार व्यापार र जीवन बीमा समूह बाहेकका सबै सूचकहरू राताम्मे देखिएका छन् । व्यापार समूह ० दशमलव ३२ प्रतिशत र जीवन बीमा ० दशमलव ०१ प्रतिशतले सामान्य बढ्दा अन्य समूहमा सबैभन्दा धेरै २ प्रतिशतको गिरावट आएको छ । यस्तै, बैंकिङ, विकास बैंक, फाइनान्स, हाइड्रोपावर, माइक्रोफाइनान्स र निर्जीवन बीमा लगायतका समूहका लगानीकर्ताले पनि बिहीबार गुमाएका छन् । समग्र बजारमा ८० कम्पनीको सेयर मूल्य उकालो लाग्दा १७४ कम्पनीका लगानीकर्ताले भने नोक्सानी व्यहोरेका छन् ।

कम्पनीगत आधारमा युनियन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ९ दशमलव ७९ प्रतिशत नाफा कमाएका छन् भने क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य पनि ९ दशमलव २२ प्रतिशतले बढेको छ ।

अर्कोतर्फ, एसियन हाइड्रोपावरको मूल्यमा ९ दशमलव ८९ प्रतिशतको उच्च गिरावट आउँदा हिमालयन रिइन्स्योरेन्स र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि उल्लेख्य गुमाएका छन् । बिहीबार हिमालयन रिइन्स्योरेन्स, साहस ऊर्जा र एसवाई प्यानल लगायतका कम्पनीको सेयर सबैभन्दा बढी रकममा कारोबार भएको छ ।


सम्बन्धित समाचार