३१ वैशाख,वीरगञ्ज । एकीकृत भन्सार जाँचचौकी (आईसीपी)मा भारततर्फबाट बिहानै मालवाहक सवारी साधन जाँचपास गरी नेपाल पठाउन भारतीय कस्टमले असहयोग गरेको गुनासो सरोकारवालाहरूले गरेका छन्।
सीमा नाकामा हुने अनौपचारिक कारोबार नियन्त्रण, भन्सार प्रणालीलाई छिटोछरितो बनाउने तथा आयात–निर्यात प्रक्रियालाई सहज बनाउने उद्देश्यले भारत सरकारको सहयोगमा नेपाल र भारत दुवैतर्फ समान संरचनासहित आईसीपी निर्माण गरिएको थियो। तर सञ्चालनमा आएको वर्षौं बितिसक्दा पनि भारतीय पक्षले बिहानै मालवाहक गाडी नेपालतर्फ पठाउन नमानेको आरोप लगाइएको छ।
नेपालतर्फ आईसीपीको यार्ड व्यवस्थापन, पार्किङ तथा मालवाहक सवारी साधनको आवतजावत व्यवस्थापन गर्दै आएको हिमालयन लजिपार्क प्रालिका टर्मिनल प्रमुख गणेश प्रसाद घिमिरेका अनुसार पछिल्ला दुई वर्षदेखि बिहानै गाडी पठाउन आग्रह गरिए पनि भारतीय कस्टमले बिहान ११ बजेअघि कहिल्यै गाडी नपठाएको बताए।
उनले भने, “हामी बिहान ७ बजे नै यताबाट गाडी पठाउन तयार छौं। तर भारतीय कस्टमबाट बिहानै जाँचपास गरेर पठाउन आग्रह गर्दा पनि अहिलेसम्म बिहान ११ बजेभन्दा पहिले गाडी पठाइएको छैन।”
घिमिरेका अनुसार भारतीय कस्टमले जनशक्तिको अभाव तथा रक्सौलबाट कर्मचारी ढिलो आउने कारण देखाउँदै बिहान गाडी पठाउन नसकिने बताउने गरेको छ।
यस विषयमा वीरगन्ज भन्सार कार्यालयका प्रमुख प्रशासक कृष्ण प्रसाद मैनालीले पनि भारतीय पक्षले कार्यान्वयनमा आनाकानी गरिरहेको बताए।
उनका अनुसार काउन्टरपार्ट मिटिङ तथा भारतीय कस्टम कार्यालयमा पटक–पटक विषय उठाइएको भए पनि व्यवहारमा अपेक्षित सुधार आउन सकेको छैन।
नेपाल–भारत सीमामा हुने चोरी, तस्करी तथा आपराधिक गतिविधि नियन्त्रणका लागि दुवै देशका स्थानीय अधिकारी सम्मिलित सीमा सुरक्षा समन्वय समिति सक्रिय रहेको छ। आवश्यक समन्वय र सहजीकरणका लागि पहल गरिने भोला दाहालले बताएका छन्।




















