Logo

३१ बैशाख, काठमाडौं । विश्वका दुई महाशक्ति राष्ट्र अमेरिका र चीनबीच इरानको आणविक महत्त्वाकांक्षालाई लगाम लगाउने विषयमा ऐतिहासिक सहमति भएको छ ।

बेइजिङमा जारी उच्चस्तरीय शिखर वार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच इरानलाई कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नदिने साझा प्रतिबद्धता व्यक्त भएको हो । रोयटर्सले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार, दुवै देश इरानको आणविक हतियार निर्माण गर्ने प्रयासलाई रोक्न कूटनीतिक र प्राविधिक दबाब बढाउन एकमत देखिएका छन् ।

यो वार्ता इरानको मुद्दामा मात्र केन्द्रित नभई रणनीतिक सन्तुलनका दृष्टिले पनि निकै अर्थपूर्ण देखिएको छ। अचम्मको कुरा त के छ भने, दुई देशबीचको सबैभन्दा विवादित मानिने ताइवानको विषयमा भने यसपटक दुवै पक्ष मौन देखिएका छन् । ह्वाइट हाउसले सार्वजनिक गरेको वार्ताको आधिकारिक विवरणमा ताइवानको कुनै पनि सन्दर्भ उल्लेख गरिएको छैन ।

चिनियाँ सञ्चारमाध्यमहरूले ताइवानलाई सधैँ मुख्य द्वन्द्वको विषयका रूपमा प्रस्तुत गरिरहने पृष्ठभूमिमा यो मौनतालाई कूटनीतिक वृत्तमा निकै चासो र आशङ्काका साथ हेरिएको छ ।

विश्व राजनीतिमा तनाव बढिरहेका बेला ट्रम्प र सीबीचको यो सहमतिले मध्यपूर्वको सुरक्षामा ठुलो प्रभाव पार्ने अपेक्षा गरिएको छ । इरानलाई आणविक शक्ति बन्नबाट रोक्ने यो सहकार्यले वासिङ्टन र बेइजिङबीचको शीतयुद्धकालीन दूरीलाई केही हदसम्म कम गर्न सक्ने अनुमान गरिएको छ ।

यद्यपि, ताइवान जस्तो संवेनदशील विषयमा भएको मौनताले भविष्यमा नयाँ रणनीतिक मोड लिन सक्ने भन्दै विश्लेषकहरूले यसलाई ‘शान्ति अघिको सन्नाटा’ का रूपमा समेत टिप्पणी गर्न थालेका छन् ।


सम्बन्धित समाचार