३ जेठ, काठमाडौं । देशको सबैभन्दा सुरक्षित मानिएको सुन्धारास्थित केन्द्रीय कारागारको पर्खाल नाघेर जन्मकैदको सजाय भोगिरहेकी एक खतरनाक अपराधी शनिबार पुनः फरार भएकी छन् ।
नुवाकोटको विदुर नगरपालिका निवासी २५ वर्षीया सपना तामाङ सुरक्षा घेरा र काँडेतार तोडेर दोस्रोपटक जेलबाट भाग्न सफल भएकी हुन् । ६ वर्षीया बालिका सुमिना तामाङको सुनको टप लुटेर विभत्स हत्या गरेको अभियोगमा जन्मकैदको सजाय काटिरहेकी सपना नाबालिग उमेरदेखि नै चोरी र डकैती जस्ता गम्भीर अपराधमा संलग्न रहँदै आएको प्रहरी अनुसन्धानले देखाएको छ ।
२०७७ सालमा रसुवामा स्कुलबाट घर फर्कंदै गरेकी बालिकाको घाँटी थिचेर हत्या गरी शव ओढारमा लुकाएको पुष्टि भएपछि उनलाई केन्द्रीय कारागार पठाइएको थियो ।
सपनाको यो जेल ब्रेक पहिलो घटना भने होइन । यसअघि २०८२ भदौ २४ गते जेनजी समूहको प्रदर्शनका क्रममा कारागारमा भएको अन्योलको फाइदा उठाउँदै उनी पहिलोपटक फरार भएकी थिइन्, जसलाई दुई महिनापछि रसुवाको धुन्चेबाट पक्राउ गरी पुनः सुन्धारा ल्याइएको थियो । शनिबार बिहान करिब साढे १ बजे भएको पछिल्लो घटनामा उनले कारागारको पछाडिपट्टिको पर्खाल नाघेको सीसीटीभी फुटेजमा देखिएको छ ।
डीएसपीको कमान्डमा रहने उच्च सुरक्षा घेराबाटै एकै व्यक्ति पटक–पटक फरार हुनुले कारागार प्रशासन र सुरक्षा संयन्त्रको गम्भीर लापरवाहीलाई छर्लङ्ग पारेको छ । जेलर कृष्ण चापागाईंका अनुसार सपनाले निकै लामो योजना र उचित अवसरको पर्खाइपछि मात्र यो कदम चालेको देखिएको छ ।
सुरक्षाकर्मीहरूको आँखा छलेर काँडेतार लगाइएको पर्खाल कसरी पार गरियो भन्ने विषय अहिले सुरक्षा निकायका लागि टाउको दुखाइको विषय बनेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले घटनालाई शंकास्पद मान्दै आन्तरिक छानबिन र खोजी कार्यलाई तीव्र पारेको छ । एक अबोध बालिकाको ज्यान लिने क्रुर अपराधी यसरी पटक–पटक कानुनी नियन्त्रण बाहिर जाँदा समाजमा सुरक्षा चुनौती र त्रास थप बढेको छ ।


















