४ जेठ, चितवन । सफलताको कथा सधैँ अर्बौँको लगानी वा सुगम बाटोबाट मात्र सुरु हुँदैन। कतिपय कथाहरू आँखाको आँसु, रित्तो गोजी र आफ्नै देशको माटोमा केही गर्ने एउटा तन्नेरी दृढ सङ्कल्पबाट सुरु हुन्छन्। भरतपुर महानगरपालिका वडा नम्बर ४ यज्ञपुरीमा सञ्चालित “आरोग्य गाई फर्म” को कथा पनि ठ्याक्कै यस्तै छ।
यो कथा केवल दूध उत्पादनको मात्र होइन, यो त १२ वर्ष अर्काको पसलमा पसिना बगाउँदा भोग्नुपरेको पीडा, सानाबुवा–सानिमाको गुन र एक दम्पतीको अथाह मेहेनतको जीवित दस्तावेज हो। वि.सं. २०३६ साल मङ्सिर ४ गते जन्मनुभएका पोषराज सुवेदीको विगत सहज थिएन। २०७० सालभन्दा अगाडि उहाँले करिब १२ वर्ष नारायणगढस्थित मुक्ति केदार फेन्सी स्टोरमा कर्मचारीका रूपमा काम गर्नुभयो। महिनामा एकचोटि मात्र घर जान पाइने, दिनभरिको श्रम तर हातमा आउने सीमित तलब।
त्यो बेला तलबले घरखर्च, श्रीमती र छोराछोरीको पढाइ धान्न धौ–धौ हुन्थ्यो। चाडबाडमा छोराछोरीले मन पराएको कपडा किन्न नसक्दा भित्रैदेखि मन रुन्थ्यो, आँखा रसाउँथे, पोषराज विगत सम्झँदै भावुक बन्नुहुन्छ। त्यही अभावको पीडा र सन्तानको खुसी देख्ने चाहनाले उहाँलाई एउटा कठोर निर्णयमा पुर्यायो— अर्कैको अर्कैको पसलमा कतिन्जेल गल्ने ? बरु आफ्नै माटोमा पसिना बगाउँछु।
आफ्नो साथमा रहेको ५० हजार र यज्ञपुरीकै सानाबुवा जय नारायण सापकोटा तथा सानिमा दिलकुमारी सापकोटाले विश्वास गरेर दिएको १ लाख ५० हजार गरी जम्मा २ लाख रुपैयाँको सहारामा पोषराजले पशुपालनको जग बसाल्नुभयो। उहाँहरूको त्यो गुन र हौसला नभएको भए म आज यो ठाउँमा हुने थिइनँ, यो भनिरहँदा पोषराजका आँखा फेरि भरिए, र छेउमै रहेकी श्रीमती सावित्री सुवेदीले पनि आँसु थाम्न सक्नुभएन। तर यो आँसु कमजोरीको थिएन, कृतज्ञताको थियो। उहाँले त्यो ऋण दुई वर्षभित्रै फिर्ता गर्नुभयो, जसलाई उहाँ जीवनकै सबैभन्दा ठूलो आत्मसन्तुष्टि मान्नुहुन्छ।
सुरुमा ३ कट्ठा जग्गामा सानो गोठ बनाएर सुरु भएको यात्रा आज डेढ बिघा भाडाको जग्गामा फैलिएको छ। गोठ वरिपरि हरियो घाँस लहलहाएको छ। धान, मकै र तोरी बाली पनि उहाँहरू आफैँ लगाउनुहुन्छ। धानबाट आएको पराल गाईभैँसीलाई हुन्छ, धान बिक्रीबाट अतिरिक्त आम्दानी।
आज यो फर्ममा ९ वटा भैँसी र ६ वटा गाईसहित पाडापाडी र बाछाबाछी गरेर करिब ३० वटा वस्तुभाउ छन्। दैनिक करिब १०० लिटर दूध उत्पादन हुन्छ। गाईको दूध प्रतिलिटर ९० र भैँसीको दूध १२० रुपैयाँमा बिक्री हुन्छ। उत्पादित दूध पोषराज आफैँ घरघरै पुर्याउनुहुन्छ भने बाँकी रहेको दूधबाट फर्ममै शुद्ध दही बनाएर बेचिन्छ। उत्पादन बढेसँगै उहाँहरूले करिब १५ लाख खर्चेर आधुनिक गोठ र घाँस काट्ने मेसिन समेत थपिसक्नुभएको छ।
सुवेदी दम्पतीको दिन बिहान ९ बजेदेखि राति ९ बजेसम्म गोठमै बित्छ। बीचको दुई घण्टा विश्राम त हुन्छ, तर त्यो विश्राममा पनि मन गोठकै वरिपरि घुमिरहन्छ। यी पशुहरू मेरा लागि छोराछोरी जस्तै हुन्। आफू भोकै बस्न सकिन्छ, तर यिनीहरूलाई समयमा खुवाउन नसक्दा मन मान्दैन,” पोषराज भन्नुहुन्छ। गोठको नजिक जाँदा पशुहरूले टाउको हल्लाउने र पुच्छर चलाउने गर्दा उनीहरूको भाषा र भोक सुवेदी दम्पतीले सहजै बुझ्ने गर्नुभएको छ। श्रीमती सावित्री थप्छिन्, “कहिलेकाहीँ कतै बाहिर जाँदा पनि रातभर निद्रा लाग्दैन, गोठकै चिन्ता भइरहन्छ।”
राज्यको अनुदान प्रणालीप्रति पोषराजको अनुभव अलि तितो छ। झोलामा कागज बोकेर हिँड्नेहरूले अनुदान पाएका छन्, तर वास्तविक गोठमा खट्ने किसानलाई पुग्दैन,” उहाँ दुखेसो पोख्नुहुन्छ। यद्यपि, पशु बीमामा राज्यले गरेको सहयोगको भने उहाँ खुलेर प्रशंसा गर्नुहुन्छ।
१५ वर्षको सम्झौतामा जग्गा भाडामा लिएर चलाइएको यो फर्ममा अझै एउटा सपना अधुरो छ— भरतपुरमै सानो घर बनाएर परिवारसँग एउटै छानामुनि बस्ने। अहिले आर्थिक कारणले गोठ नजिकै सानो झुपडीमा यो दम्पतीले जीवन बिताइरहेको छ। तर, पोषराजलाई यसमा कुनै हिनताबोध छैन।
“मैले बाल्यकालमा हलो जोतेर स्कुल गएको हुँ, जङ्गलबाट घाँस दाउरा बोकेको छु। त्यो पीडा अझै बिर्सिएको छैन। मेरो लागि धनसम्पत्ति ठूलो होइन, परिवार खुसी रहोस्, रोग नलागोस्, यही नै मेरो ठूलो सपना हो,” उहाँ दृढता व्यक्त गर्नुहुन्छ।
आज “आरोग्य गाई फर्म” केवल दूध उत्पादन गर्ने केन्द्र मात्र होइन, यो स्वदेशमै सम्भावना खोज्नेहरूका लागि एउटा विश्वविद्यालय हो। विदेश जानु वा बेरोजगार भएर सरकारलाई गाली गर्नु मात्र विकल्प होइन भन्ने कुरा पोषराज र सावित्रीको यो ४० डिग्रीको गर्मीमा बगेको पसिनाले प्रमाणित गरिदिएको छ। जहाँ पसिना छ, जहाँ दृढ सङ्कल्प छ, त्यहाँ सफलता निश्चित छ— आरोग्य गाई फर्म यसकै एउटा जीवित र सुन्दर उदाहरण हो।




















