Logo

 ६ जेठ,काठमाडौं ।  चलचित्र ‘लालीबजार’ सम्बन्धी विवादमा उच्च अदालत पाटनले बुधबारदेखि पुनः सुनुवाइ सुरु गरेको छ।

न्यायाधीशद्वय गणेशप्रसाद बराल र नारायणप्रसाद सुवेदीको इजलासले आजको सुनुवाइमा विपक्षीलाई छलफलका लागि उपस्थित गराउन आदेश दिएको छ।

यसअघि उच्च अदालत पाटनले चलचित्रको प्रदर्शन रोक्न जारी अन्तरिम आदेशलाई निरन्तरता दिन आवश्यक नभएको ठहर गर्दै प्रदर्शनका लागि बाटो खुला गरेको थियो। उक्त निर्णयविरुद्ध अभियन्ता नेपालीले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

सो रिटमाथि गत साता सुनुवाइ गर्दै सर्वोच्च अदालतले विवादित चलचित्र अवलोकन गरी आवश्यक परे अन्य बुझाइ समेत लिएर ७ दिनभित्र अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय गर्न उच्च अदालत पाटनलाई निर्देशन दिएको थियो।

सर्वोच्चको आदेशअनुसार आज उच्च अदालत पाटनमा पुनः सुनुवाइ भएको हो। यो मुद्दामा सूचना तथा सञ्चार मन्त्रालयसहितका निकायलाई विपक्षी बनाइएको छ।

षट्कोण आर्ट्सद्वारा निर्माण गरिएको चलचित्र ‘लालीबजार’ हाल देशभरका हलहरूमा प्रदर्शन भइरहेको छ। प्रदर्शनसँगै फिल्मले दर्शकबाट उत्साहजनक व्यापार गरिरहेको जनाइएको छ।

फिल्मले वादी समुदायकी एक महिलाले आफ्नी छोरीको शिक्षा र पोषण सुनिश्चित गर्न गर्ने संघर्षलाई कथावस्तु बनाएको छ।


सम्बन्धित समाचार