१० जेठ, वीरगञ्ज । नेपाल–भारत सीमा क्षेत्रमा प्रहरीले बेलैमा सक्रियता देखाउँदा सम्भावित मानव बेचबिखनको एउटा ठूलो जोखिम टरेको छ । विभिन्न प्रलोभन र प्रपञ्चमा पारेर भारततर्फ लैजान लागिएका तीन जना नेपाली बालिकालाई पर्सा प्रहरीले सीमा नाकाबाटै सकुशल उद्धार गर्न सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित मुख्य भन्सार क्षेत्रबाट शनिबार ती बालिकाहरूको उद्धार गरिएको हो ।
सीमा नाकामा खटिएको प्रहरी टोलीले नियमित चेकिङ तथा निगरानी गर्ने क्रममा बालिकाहरूको हिँडडुल र हाउभाउ शङ्कास्पद देखेको थियो । सोधपुछ गर्दा बालिकाहरूलाई विभिन्न प्रलोभन देखाई, ललाइफकाई सीमापार गराउन लागिएको रहस्य खुलेपछि प्रहरीले उनीहरूलाई तत्काल आफ्नो संरक्षणमा लिएको थियो ।
प्रहरीले बालिकाहरूलाई भारततर्फ लैजाँदै गरेको अवस्थामा स्थलगत रूपमै एक जना युवकलाई समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका युवकको पहिचान र उनको स्थायी ठेगाना भने अनुसन्धानको संवेदनशीलतालाई ध्यानमा राख्दै हाललाई गोप्य राखिएको छ ।
पर्सा प्रहरीका अनुसार उद्धार गरिएका बालिकाहरूको मानसिक तथा शारीरिक अवस्था सामान्य रहेको छ । उनीहरूलाई आवश्यक काउन्सिलिङ (परामर्श) का लागि हाल सुरक्षित स्थानमा राखिएको छ भने कानुनी प्रक्रिया पूरा गरी अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको छ ।
सीमा नाकामा सक्रिय मानव तस्करहरूको सञ्जालले यी बालिकाहरूलाई निशाना बनाएको हुन सक्ने आशङ्कामा प्रहरीले समातिएका युवकमाथि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाउन आवश्यक कानुनी कसरत अघि बढाएको छ। घटनाको गम्भीरतालाई हेर्दै यसको जरोसम्म पुग्न पर्सा प्रहरीले सघन अनुसन्धान भइरहेको जनाएको छ ।

















