१७ जेठ, काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटसँगै सुनको मूल्यमा कीर्तिमानी वृद्धि देखिएको छ ।
बजेटमार्फत सुन आयातमा लाग्ने भन्सार दरमा गरिएको भारी वृद्धिले बजारमा प्रत्यक्ष प्रभाव पारेपछि आइतबार सुनको मूल्यमा प्रतितोला २० हजार ५ सय रुपैयाँको उछाल आएको छ । सरकारी निर्णय कार्यान्वयनमा आएसँगै सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार समायोजन भई ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको छ । सरकारले सुनको भन्सार दर १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएपछि सोही अनुपातमा मूल्य समायोजन गरिएको महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले जानकारी दिएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य सामान्य वृद्धि भए पनि नेपालमा भने भन्सार शुल्कको भारी वृद्धिका कारण सर्वसाधारण उपभोक्ताले महँगोमा सुन खरिद गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।
बजेटले ल्याएको यो नयाँ कर नीतिका कारण सुनचाँदी बजारमा तत्कालै ठूलो मूल्य समायोजन भएको हो, जसले व्यवसायी र उपभोक्ता दुवैलाई तरंगित बनाएको छ ।




















