Logo

१७ जेठ, काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीका लागि विदेश उड्ने तयारीमा रहेका नेपाली श्रमिकहरूलाई विशेष सतर्कता अपनाउन र श्रम स्वीकृति प्राप्त भइसकेपछि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्न पुनः आग्रह गरेको छ ।

पछिल्लो समय श्रमिक भिसामा यात्रा गर्न चाहने धेरैजसो व्यक्तिहरू श्रम स्वीकृतिको अन्तिम प्रक्रिया पूरा नहुँदै वा केवल आवेदन दिएकै भरमा विमानस्थल पुग्ने गरेको पाइएपछि विभागले यस्तो सूचना जारी गरेको हो ।

विभागका अनुसार, कतिपय श्रमिकहरू दलाल वा अन्य व्यक्तिमार्फत ‘काम भइसकेको छ’ भन्ने गलत जानकारीको विश्वासमा परी विमानस्थल पुग्ने गरेका छन् । वास्तविक अवस्थामा उनीहरूको श्रम स्वीकृति प्रक्रिया जारी नै रहेकाले यस्तो अवस्थामा अध्यागमनले प्रस्थान अनुमति दिन नसक्ने विभागले स्पष्ट पारेको छ ।
आवेदन दिएको भरमा मात्र यात्रा गर्न खोज्दा श्रमिकहरूले अनावश्यक सास्ती र आर्थिक नोक्सानी बेहोर्नुपरेको भन्दै विभागले आफ्नो श्रम स्वीकृति भएको यकिन गरेर मात्र घरबाट निस्कन सुझाव दिएको छ ।

श्रमिकको वैदेशिक यात्रालाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले विभागले यो सूचना जारी गरेको हो । श्रम अनुमति प्राप्त नभएको अवस्थामा जुनसुकै कारणले पनि अध्यागमनबाट प्रस्थान अनुमति नपाउने भएकाले श्रमिकहरूलाई सचेत रहन र कानुनी प्रक्रिया पूर्ण रूपमा पालना गर्न विभागले जोड दिएको छ ।


सम्बन्धित समाचार