१८ जेठ, काठमाडौँ । प्रतिनिधिसभामा देखिएको निरन्तरको अवरोधले संसद्को कामकारबाही प्रभावित भइरहेका बेला सभामुख डोलप्रसाद अर्याल ९डीपी० ले विपक्षी दलहरूको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले सोमबार बैठक अवरुद्ध गरेपछि सभामुख अर्यालले आफ्नो आसनबाटै संवादमा विपक्षीको असहयोग रहेको गुनासो गरेका हुन् । बैठकको सुरुमै विपक्षी दलहरूले विरोध जारी राखेपछि सभामुख अर्यालले आफूले समस्या समाधानका लागि बारम्बार विपक्षी दलका नेताहरूलाई छलफलमा बोलाए पनि त्यसको कुनै सुनुवाइ नभएको दाबी गरे ।
“सभामुखको हैसियतले मैले संवाद र सहमतिको प्रयासलाई सधैँ प्राथमिकता दिएको छु, तर विपक्षी दलका तर्फबाट मलाई नजरअन्दाज गर्ने काम भएको छ,” सभामुखले भने । संसद्मा देखिएको गतिरोध हटाउन आफूले निरन्तर प्रयास गरे तापनि विपक्षीबाट अपेक्षित साथ नपाएको उनको भनाइ थियो ।
प्रक्रिया मिचेको आरोपमा सभामुखको प्रष्टीकरण
आइतबार प्रतिनिधिसभा नियमावली पारित गर्ने प्रक्रियालाई लिएर उठेका प्रश्नहरूको जवाफ दिँदै सभामुखले आफूले संविधान र नियमावलीको पूर्ण पालना गरेको दाबी गरे । केही विपक्षी सांसदहरूले प्रक्रिया मिचेको भनी लगाएको आरोपको खण्डन गर्दै उनले भने, “विधेयकमा परेका संशोधनहरूलाई नियमानुसार निर्णयार्थ प्रस्तुत गर्नु मेरो जिम्मेवारी हो । मैले कानुन र प्रक्रिया बाहिर गएर कुनै काम गरेको छैन ।”
संसद् सञ्चालनमा चुनौती
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षीसहितका दलहरूले संसद् अवरुद्ध गर्दा र सभामुख स्वयंले विपक्षीको असहयोगको गुनासो गर्दा संसद्को वातावरण थप जटिल बनेको छ ।
सदनको गरिमा कायम राख्न सभामुखले संवादको ढोका खुल्ला रहेको बताइरहँदा, सत्तापक्ष र प्रतिपक्षबीचको दूरी बढ्दै जाँदा संसद्को आगामी बैठकहरू कसरी अघि बढ्लान् भन्ने प्रश्न खडा भएको छ ।




















