१८ जेठ,वीरगञ्ज । खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय जनकपुरबाट आएको मोबाइल ल्याब भ्यानसहितको संयुक्त अनुगमन टोलीले वीरगञ्जका डेरी उद्योग तथा मिठाई पसलहरूमा अनुगमन गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको संयोजकत्वमा सोमबार गरिएको अनुगमनका क्रममा पानीटंकीस्थित मंगलम डेरीमा परीक्षण गरिएको दूधमा सोडा मिसावट भेटिएपछि उक्त दूध नष्ट गरिएको छ।
अनुगमन टोलीले मंगलम डेरीबाट परीक्षणका लागि लिइएको करिब २० लिटर दूधमा सोडा फेला परेको जनाएको छ। मिसावट पुष्टि भएपछि सो दूध तत्काल नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए।
अनुगमनका क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्सा, उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्सा, प्रहरी प्रशासन तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका प्रतिनिधिहरू सहभागी थिए।
टोलीले बजारमा बिक्री वितरण भइरहेका खाद्य सामग्रीको गुणस्तर परीक्षण तथा उपभोक्ता हित संरक्षणका लागि वीरगञ्जका विभिन्न स्थानमा अनुगमन जारी रहेको जनाएको छ।




















