१८ जेठ,डडेलधुरा । डडेलधुरामा शुक्रबारदेखि बेपत्ता रहेका सशस्त्र प्रहरी जवानसहित दुई जना मृत अवस्थामा फेला परेका छन्।
सशस्त्र प्रहरीको बीओपी परिगाउँमा कार्यरत जवान ओमप्रकाश पुन मगर र परशुराम नगरपालिका–५ का स्थानीय तीर्थबहादुर थापा मगर सोमबार बिहान महाकाली नदीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहका अनुसार तीर्थबहादुर थापा मगरको शव परशुराम नगरपालिका–५ स्थित महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा फेला परेको हो।
त्यस्तै, सशस्त्र प्रहरी जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा भारततर्फको महाकाली नदी किनारमा भेटिएको उनले जानकारी दिए।
थापामगरको शव जोगबुढा अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ भने भारतीय भूमिमा फेला परेका पुन मगरको शव भारतीय प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी उतै लगेको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भारतीय भूमिमा शव फेला परेकाले प्रक्रिया पूरा भएपछि मात्रै परिवारलाई हस्तान्तरण गरिनेछ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















