१८ जेठ,वीरगञ्ज । पर्सा प्रहरीले तस्करीको आशंकामा १० वटा भैंसीका पाडासहित एउटा बोलेरो गाडी र त्यसमा सवार तीन जनालाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार बिहान करिब १ः४५ बजे सखुवा प्रसौनी गाउँपालिका–६ स्थित लखनपुर चोकमा चेकजाँचका क्रममा प्रदेश ०२–०३–००१ च ४००३ नम्बरको बोलेरो गाडी रोकेको थियो।
जाँचका क्रममा उक्त गाडीमा कुनै बिलबिजक तथा आवश्यक कागजातबिनै १० वटा भैंसीका पाडा लोड गरिएको अवस्थामा फेला परेपछि प्रहरीले गाडीसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा पर्नेहरूमा कालिकामाई गाउँपालिका–५ निवासी ३५ वर्षीय विजय शर्मा, धोबिनी गाउँपालिका–३ निवासी ६१ वर्षीय बिकरमा राउत कुर्मी तथा धोबिनी गाउँपालिका–५ निवासी ५५ वर्षीय होडा देवान रहेका छन्।
प्रहरीका अनुसार बरामद गरिएका १० वटा पाडा, बोलेरो गाडी तथा नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक कानुनी कारबाहीका लागि सोमबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















