१९ जेठ, काठमाडौं । कपडा व्यापारको आवरणमा अवैध आर्थिक कारोबार गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले वीरेन्द्रनगरमा ठूलो परिमाणमा सुन र नगद बरामद गरेको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले सोमबार साँझ वीरेन्द्रनगर–६, तल्लो बजारस्थित ‘शिव इम्पोरियम’मा छापा मार्दा करोडौँ मूल्यको सुन र नगद फेला पारेको हो ।
प्रहरीले पसलका सञ्चालक ६५ वर्षीय श्याम सुन्दर अग्रवाललाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१० घर भई सुर्खेतमा लामो समयदेखि व्यापार गर्दै आएका अग्रवालको साथबाट २ लाख १९ हजार ५०० नेपाली रुपैयाँ, ८ लाख ११ हजार ८०० भारतीय रुपैयाँ र करिब ३ करोड मूल्य बराबरका सुनचाँदीका गहना बरामद गरिएको प्रहरीले जनाएको छ । साथै, अवैध कारोबारमा प्रयोग हुँदै आएको पैसा गन्ने मेसिनसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी अनुसन्धानका अनुसार, अग्रवालले कपडा पसलको आडमा भारतीय मुद्रा र सुनचाँदी धितो राखेर चर्को ब्याजमा नगद ऋण प्रवाह गर्ने अवैध धन्दा चलाउँदै आएका थिए ।
पक्राउ परेका अग्रवाललाई नियन्त्रणमा लिएको केही घण्टामै गएराति १ बजे उनी एक्कासी बिरामी परेका छन् । हाल उनको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ ।




















