Logo

१९ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ कारोबारको सुरक्षाका लागि आफ्नो मोबाइल नम्बर परिवर्तन भएमा तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

पछिल्लो समय डिजिटल बैंकिङमा बढ्दो पहुँचसँगै मोबाइल नम्बर वा इमेल ठेगानामा आउने संवेदनशील सूचनाहरू सुरक्षित राख्न यस्तो सावधानी अपनाउनु पर्नेमा केन्द्रीय बैंकले जोड दिएको हो ।

बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र विभिन्न भुक्तानी सेवा प्रदायक (वालेट) का सेवाहरू प्रयोगकर्ताको मोबाइल नम्बर वा इमेलसँग प्रत्यक्ष रूपमा आबद्ध हुन्छन् । यदि प्रयोगकर्ताको मोबाइल नम्बर परिवर्तन भयो वा सिमकार्ड हरायो र त्यसको जानकारी बैंकलाई समयमै दिइएन भने, खातासम्बन्धी गोप्य विवरणहरू अनधिकृत व्यक्तिको हातमा पुग्ने उच्च जोखिम रहन्छ ।

‘मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा ढिलाइ गर्दा तपाईंको वित्तीय विवरण सुरक्षित रहँदैन,’ केन्द्रीय बैंकद्वारा जारी सूचनामा भनिएको छ । राष्ट्र बैंकले वित्तीय कारोबारका लागि सधैँ आफ्नै नाममा दर्ता भएको सिमकार्ड र आधिकारिक एप्लिकेसनहरू मात्र प्रयोग गर्न सुझाव दिएको छ ।

आफ्ना व्यक्तिगत वित्तीय विवरण सुरक्षित राख्न र कुनै पनि प्रकारको ठगीबाट बच्न यस्ता विषयमा चनाखो हुन केन्द्रीय बैंकले सबै सेवाग्राहीलाई सचेत गराएको छ ।


सम्बन्धित समाचार