Logo

१९ जेठ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले बागमती र मधेश प्रदेशका विभिन्न विवादित पालिकाहरूको अधिवेशन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ।

निर्वाचन आयोगले बागमती प्रदेशअन्तर्गत सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका तथा विवाद देखिएका अन्य स्थानका अधिवेशन रोक्न निर्देशन दिएको हो। यस्तै, मधेश प्रदेशमा सप्तरी र सिराहा जिल्लाका सम्पूर्ण विवादित स्थानीय तह तथा वडाको अधिवेशन स्थगित गरिएको छ।

महोत्तरीमा जलेश्वर, एकडारा, मतिहानी, मनरा शिस्वा, पिपरा लगायतका पालिकाका साथै विवादित अन्य स्थानहरूको अधिवेशन प्रक्रिया पनि रोकिएको छ। धनुषामा जनकपुर उपमहानगरपालिका, जनकनन्दिनी र गणेशमान चारनाथ नगरपालिकाको अधिवेशन स्थगित गरिएको छ भने सर्लाहीको हरिपूर्वा नगरपालिकाको अधिवेशन प्रक्रिया पनि रोक्न निर्देशन दिइएको छ।

रास्वपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले ती स्थानहरूमा विवाद उत्पन्न हुनुका साथै विभिन्न उजुरीसमेत परेकाले तत्कालका लागि अधिवेशन प्रक्रिया स्थगित गरिएको बताए।

उनका अनुसार विवाद समाधान भएपछि पुनः अधिवेशन प्रक्रिया अघि बढाइनेछ। आयोगले १७ जेठसम्म प्रक्रिया सुरु भइसकेका बाहेक अन्य सबै विवादित स्थानका वडा, पालिका तथा जिल्ला अधिवेशनसम्बन्धी सम्पूर्ण निर्वाचन प्रक्रिया अर्को आधिकारिक निर्णय नआएसम्मका लागि रोक्न निर्देशन दिएको छ।


सम्बन्धित समाचार
भर्खरै