Logo

३० जेठ,पोखरा । भारतीय पर्यटकको बढ्दो आगमनसँगै नेपालको पर्यटकीय राजधानी पोखरा यतिबेला भरिभराउ बनेको छ। लेकसाइड क्षेत्रमा पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्दा होटल, रेष्टुराँ, डुङ्गा व्यवसाय तथा ट्रेकिङ गतिविधि समेत चलायमान बनेका छन्।

व्यवसायीहरूका अनुसार फेवातालमा एकै दिन ५ हजारभन्दा बढी पर्यटकले डुङ्गा सयर गरेका छन्। त्यसैगरी अन्नपूर्ण क्षेत्रसहित आसपासका पदमार्गहरूमा पनि भारतीय पर्यटकको उल्लेख्य उपस्थिति देखिएको छ।

पर्यटकको चाप बढेसँगै पोखराका अधिकांश होटल भरिभराउ भएका छन्। सामान्यतया ‘अफसिजन’ मानिने समयमा समेत पर्यटकको संख्या उल्लेख्य रूपमा बढेपछि पर्यटन व्यवसायीहरू उत्साहित बनेका छन्।

ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले भारतीय पर्यटकको आगमनले नेपालको पर्यटन क्षेत्रलाई सकारात्मक ऊर्जा प्रदान गरेको बताउनुभयो। उहाँले पछिल्लो समय भारतीय पर्यटकले पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई प्राथमिकतामा राख्न थालेको उल्लेख गर्नुभयो।

होटल संघ पोखराका अध्यक्ष लक्षुमण सुवेदीका अनुसार विगत ३२ वर्षकै इतिहासमा यस वर्ष सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल भित्रिएका छन्। वैशाखको नयाँ वर्षदेखि सुरु भएको पर्यटक आगमनको लहर जेठ महिनाको अन्त्यसम्म पनि निरन्तर कायम रहेको उहाँको भनाइ छ।

पोखरा मात्र नभई गण्डकी प्रदेशका अन्य प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू, विशेषगरी मुक्तिनाथ तथा विभिन्न पदयात्रा मार्गहरूमा पनि भारतीय पर्यटकको संख्या उत्साहजनक रहेको देखिएको छ।

भारतमा बढ्दो गर्मी, विद्यालय तथा कार्यालयको बिदा, सहज आवागमन र प्राकृतिक सौन्दर्यका कारण भारतीय नागरिकले नेपाललाई आकर्षक तथा उपयुक्त पर्यटन गन्तव्यका रूपमा रोज्न थालेका छन्। पर्यटन व्यवसायीहरूले भारतीय पर्यटकको बढ्दो आगमनले स्थानीय अर्थतन्त्र चलायमान हुनुका साथै पर्यटन क्षेत्रको पुनरुत्थानमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका छन्।


सम्बन्धित समाचार