२ असार,वीरगञ्ज । बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा छतबाट लडेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय अन्दाजी ५० वर्षीय सोभालाल चौधरी रहेका छन्। सोमबार राति करिब १ः३० बजे आफ्नै एकतले पक्की घरको छतमा पिसाब फेर्ने क्रममा उनी छतबाट लड्दा टाउको र मुखमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
घाइते चौधरीलाई तत्काल उपचारका लागि तामागढी अस्पताल, कोल्हवी लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि एलएस न्युरो अस्पताल, परवानीपुर बारा रेफर गरिएको थियो।
उपचारकै क्रममा बिहान करिब ४ः४५ बजे चौधरीको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। अस्पतालमा कार्यरत प्रहरी कर्मचारीले बिहान ४ः५५ बजे इलाका प्रहरी कार्यालय कोल्हवीलाई घटनाबारे जानकारी गराएका थिए।
जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक कलम नारायण यादवको कमाण्डमा प्रहरी टोली घटनास्थल तथा अस्पतालमा खटिएको थियो। मृतकको शव हाल एलएस न्युरो अस्पतालमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
















