Logo

११ असार, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आउँदासमेत नेपाली बजारमा इन्धनको मूल्य यथावत् राखिएको भन्दै नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कडा आपत्ति जनाउनुभएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ३० प्रतिशतले घटिसक्दा पनि आम उपभोक्ताले भने पुरानै महँगो दरमा इन्धन खरिद गर्नुपर्ने बाध्यता रहनु निकै दुःखद रहेको उहाँको भनाइ छ ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री पौडेलले नेपाल आयल निगमले प्रस्तुत गर्ने तर्कलाई ‘बहानाबाजी’ को संज्ञा दिनुभएको छ। निगमले ‘प्रशोधित तेल किन्ने भएकाले मूल्य समायोजनमा समय लाग्नेु भन्दै दिने गरेको स्पष्टीकरणप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, ‘कच्चा तेलको मूल्यमा आएको यति ठूलो गिरावटले प्रशोधित तेलको लागत पनि सोही अनुपातमा पक्कै घटाउँछ ।’ तथ्य लुकाएर प्राविधिक बहाना मात्र अघि सार्नु सरकार र निगमभित्रको चरम व्यवस्थापकीय कमजोरी एवं पारदर्शिताको अभाव भएको उहाँको जिकिर छ ।

महामन्त्री पौडेलले नियमित १५–१५ दिनमा स्वचालित मूल्य प्रणाली लागू हुनुपर्नेमा जोड दिँदै सरकारको दोहोरो मापदण्डको आलोचना गर्नुभएको छ । ‘भाउ बढ्ने बेलामा तुरुन्तै लागू हुने, तर घट्ने बेलामा नहुने, घाटा हुँदा उपभोक्ताले महँगो मूल्य तिरेर साथ दिने, अनि सस्तो हुँदा राहत नपाउने?’ भन्दै उहाँले प्रश्न उठाउनुभएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ आम नागरिकले पाउनुपर्ने भन्दै उहाँले तत्काल मूल्य समायोजन गर्न सरकारलाई दबाब दिनुभएको छ ।


सम्बन्धित समाचार