११ असार, काठमाडौं । भक्तपुरका विभिन्न क्षेत्रमा बर्डफ्लु रोगको संक्रमण पुष्टि भएपछि ठूलो संख्यामा पन्छीहरू नष्ट गरिएको छ ।
चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका व्यावसायिक कुखुरा फार्महरूमा बर्डफ्लुको संक्रमण फैलिएको पुष्टि भएसँगै रोग नियन्त्रणका लागि प्रशासनले पन्छी नष्ट गर्ने अभियान चलाएको हो ।
पशु सेवा कार्यालयका पशु चिकित्सक डा. अमिक श्रेष्ठका अनुसार संक्रमण फैलिएपछि चाँगुनारायण नगरपालिकाको वडा नं २, ८ र ९ मा रहेका ३८ हजार ७९५ कुखुरा नष्ट गरिएको छ ।
त्यस्तै, सूर्यविनायक नगरपालिकाको वडा नं १, ४ र ८ मा गरी थप ९ हजार ३७८ कुखुरा नष्ट गरिएको छ । हालसम्म भक्तपुरमा मात्रै ४८ हजार १७३ वटा पन्छी नष्ट भइसकेका छन् ।
रोगको संक्रमण थप फैलिन नदिन संक्रमित फार्मका कुखुराहरूलाई पशु चिकित्सकको निगरानीमा नष्ट गरिएको हो । काठमाडौँ उपत्यकामा बर्डफ्लुको संक्रमण ‘हटस्पट’ को रूपमा देखिएपछि भक्तपुरमा समेत उच्च सतर्कता अपनाइएको छ ।

















