Logo

१३ असार,वीरगञ्ज ।  जीतपुरसिमरा उपमहानगरपालिका–१४ ले स्थानीय धर्म, संस्कृति तथा परम्परागत सांस्कृतिक गतिविधिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न धार्मिक तथा सामुदायिक संस्थालाई बाजागाँजा वितरण गरेको छ।

वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष चयन गुरुङले जनजागृति आमा समूह, वैष्णव भक्त कीर्तन मण्डली तथा धाँगर समूहलाई हार्मोनियम, मादल, ढोलक, करताल, मञ्जिरा, झ्यालीलगायतका बाजागाँजा हस्तान्तरण गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष गुरुङले धार्मिक तथा सांस्कृतिक गतिविधिले समाजमा आपसी सद्भाव, एकता र सामाजिक मूल्य–मान्यतालाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणका लागि वडा कार्यालयले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

उनले सार्वजनिक पूजाआजा, भजन–कीर्तन, धार्मिक अनुष्ठान तथा सांस्कृतिक कार्यक्रमलाई थप व्यवस्थित बनाउन बाजागाँजाले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै समुदायको सक्रिय सहभागिताबाट मात्र मौलिक संस्कृतिको संरक्षण सम्भव हुने उल्लेख गरे।

बाजागाँजा प्राप्त गरेका संस्थाका प्रतिनिधिहरुले वडा कार्यालयप्रति आभार व्यक्त गर्दै प्राप्त सामग्रीलाई धार्मिक तथा सामाजिक कार्यक्रममा प्रभावकारी रूपमा सदुपयोग गर्ने प्रतिबद्धता जनाए। उनीहरूले यस सहयोगले आर्थिक अभावका कारण प्रभावित भएका सांस्कृतिक तथा धार्मिक गतिविधि सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गरे।

वडा कार्यालयका अनुसार स्थानीय धर्म, संस्कृति, सामाजिक एकता तथा परम्परागत सांस्कृतिक अभ्यासको संरक्षण गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिइनेछ।


सम्बन्धित समाचार