Logo

१३ असार,वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–२६ मा जीविकोपार्जन सुधार तथा व्यावसायिक पशुपालन प्रवर्द्धन गर्ने उद्देश्यले १४० जना किसानलाई भैंसी वितरण गरिएको छ।

राष्ट्रिय योजना आयोगको आर्थिक सहयोग तथा कलैया उपमहानगरपालिका–२६ को आयोजनामा सञ्चालित ‘जीविकोपार्जन सुधारका लागि व्यावसायिक पशुपालन तथा खोर सुधार कार्यक्रम’ अन्तर्गत शुक्रबार नगर प्रमुख विनोद साहले लाभग्राही किसानलाई भैंसी हस्तान्तरण गरेका हुन्।

वडा अध्यक्ष धर्मेन्द्र प्रसाद यादवका अनुसार कार्यक्रमका लागि १९५ जनाले आवेदन दिएका थिए। आवश्यक मापदण्ड पूरा गरेका १४० जना किसानलाई छनोट गरी भैंसी वितरण गरिएको हो। पशुपालन गर्ने क्षमता, व्यवस्थित खोर, पराल भण्डारण गर्ने स्थान तथा घरमा आवश्यक श्रमशक्ति भएका किसानलाई प्राथमिकताका आधारमा छनोट गरिएको उनले बताए।

उनका अनुसार शुक्रबार १२५ वटा भैंसी वितरण गरिएको छ भने बाँकी १५ वटा भैंसी आगामी दुई दिनभित्र हस्तान्तरण गरिनेछ। प्रत्येक भैंसी करिब एक लाख १८ हजार रुपैयाँमा खरिद गरिएको जानकारी दिँदै उनले लाभग्राही किसानका खोर सुधारको कामसमेत भइरहेको बताए।

वितरण गरिएका सबै भैंसीको बीमा गरिएको छ। साथै, लाभग्राहीले तीन वर्षसम्म भैंसी बिक्री गर्न नपाउने व्यवस्था गरिएको छ। तोकिएको अवधिभित्र बिक्री गरेको पाइए कानुनबमोजिम असुलउपर गरिने वडा अध्यक्ष यादवले जानकारी दिए।

भैंसी हस्तान्तरण कार्यक्रममा उपप्रमुख रौशन परविन, वडा नं. ४ का अध्यक्ष रामेश्वर प्रसाद यादव, वडा नं. ६ का अध्यक्ष रामबिश्वास ठाकुर लोहार, वडा नं. २७ का अध्यक्ष अशोक तिवारी, शिक्षा शाखा प्रमुख राजीव कुमार यादव, वातावरण शाखा प्रमुख भुलन साह, प्रदीप साह, वडा सदस्य, समाजसेवी तथा किसानहरूको उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार
भर्खरै