Logo

१३ असार,काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकमाथि गरिएको कारबाहीबाट दुई दिनमा झण्डै ४२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गरेका २ हजार १०२ जना चालकलाई कारबाही गरिएको छ। यसबाट २१ लाख १० हजार रुपैयाँभन्दा बढी राजस्व राज्यकोषमा दाखिला भएको प्रहरीले जनाएको छ।

यसअघि एकै दिन २ हजार ४३८ जना चालक कारबाहीमा परेका थिए। उक्त दिन २० लाख ७९ हजार रुपैयाँ जरिवाना सङ्कलन भएको थियो।

ट्राफिक प्रहरीले लेन अनुशासन पालना नगर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, लागूपदार्थ सेवनपछि सवारी चलाउने, नियमविपरीत राइड सेयरिङ सञ्चालन गर्ने, ट्राफिक बत्ती उल्लङ्घन गर्ने तथा तीव्र गतिमा सवारी चलाउने चालकलाई प्राथमिकताका साथ कारबाही गर्दै आएको जनाएको छ।

प्रहरीले सबै चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै सुरक्षित र व्यवस्थित सडक यातायातका लागि नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।


सम्बन्धित समाचार