Logo

१३ असार,काठमाडौं । भेनेजुएलामा लगातार आएका दुई शक्तिशाली भूकम्पपछि उद्धार कार्यका क्रममा २० वर्षमुनिको राष्ट्रिय फुटबल टोलीका खेलाडी यिमभर्ट बेरोटेरानको मृत्यु भएको पुष्टि भएको छ।

भेनेजुएला फुटबल महासंघ (एफभीएफ)ले शुक्रबार विज्ञप्ति जारी गर्दै १८ वर्षीय फरवार्ड बेरोटेरानको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पपछि भग्नावशेषमा पुरिएका बेरोटेरानको शव उद्धारकर्ताले करिब २४ घण्टापछि फेला पारेका थिए। पछिल्ला दुई दिनयता आएको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ९ सय नाघिसकेको जनाइएको छ।

बेरोटेरान घरेलु क्लब युनिभर्सिदाद सेन्ट्राल (यूसीभी)बाट खेल्दै आएका थिए। उनले गत डिसेम्बरमा क्लबलाई पहिलो पटक भेनेजुएलाको लिग उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका थिए। सोही सिजन उनले टोलीसँग राष्ट्रिय कप पनि जितेका थिए।

त्यसै महिनामा उनले कतारमा आयोजित फिफा यू–१७ विश्वकपमा भेनेजुएलाको प्रतिनिधित्व गरेका थिए, जहाँ टोली अन्तिम ३२ सम्म पुगेको थियो।

एफभीएफले जारी गरेको शोक वक्तव्यमा बेरोटेरानलाई देशको जर्सीलाई गर्व, समर्पण र प्रेमका साथ प्रतिनिधित्व गर्ने प्रतिभाशाली युवा खेलाडीका रूपमा स्मरण गर्दै उनको असामयिक निधनले सम्पूर्ण भेनेजुएली फुटबल समुदाय स्तब्ध भएको उल्लेख गरेको छ।

महासंघले उनका परिवार, साथीभाइ, प्रशिक्षक, टोलीका सदस्य तथा शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्दै बेरोटेरानले भेनेजुएली फुटबलमा पुर्‍याएको योगदान सधैं स्मरणीय रहने जनाएको छ।


सम्बन्धित समाचार