१८ असार, चितवन । भरतपुर महानगरपालिका–७ स्थित प्रेमबस्ती माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद समाधान हुनेभन्दा झन् जटिल बन्दै गएको छ । रेसखबर अनलाइनले असार १० गते पहिलोपटक सार्वजनिक गरेको विवाद अहिले महानगरपालिकाको शिक्षा प्रशासनसम्म पुगेपछि यसको वैधानिकता र निर्णय प्रक्रियामाथिको बहस थप चर्किएको हो ।
विद्यालयका निमित्त प्रधानाध्यापक रामकृष्ण पाठकले व्यवस्थापन समिति गठन कानुन र कार्यविधिअनुसार नभएको दाबी गर्दै पुनः भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखामा पुगेर औपचारिक रूपमा आफ्नो आपत्ति दोहोर्याएका छन् ।
उनले नगर शिक्षा अधिकारी तथा शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र अर्याललाई भेटेर विवादास्पद प्रक्रियाबाट बनेको भनिएको समितिलाई वैधानिक मान्यता नदिन आग्रह गरेका हुन् ।
प्रधानाध्यापक पाठकका अनुसार केही पक्षले बहुमतको आधार देखाएर विवादित समितिलाई सदर गराउन दबाब दिइरहेका छन् । तर कानुनी प्रक्रिया नै पूरा नभएको अवस्थामा बहुमतको तर्कले वैधानिकता स्थापित हुन नसक्ने उनको भनाइ छ ।
यता शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र अर्यालले विवाद समाधानका लागि सबै पक्षलाई प्रमाणसहित छलफलमा बोलाइने जानकारी दिएका छन् । उनले निमित्त प्रधानाध्यापक आफूलाई भेट्न आएको पुष्टि गर्दै व्यवस्थापन समिति गठनसँग सम्बन्धित माइन्युट, निर्णय, कागजात र अन्य प्रमाणसहित सम्बन्धित सबै पक्षलाई शिक्षा महाशाखामा उपस्थित हुन आग्रह गरिएको बताए ।
अर्यालका अनुसार यसबारे वडा नम्बर–७ का अध्यक्ष राजेन्द्रमणि काफ्लेलाई पनि जानकारी गराइसकिएको छ । वडा अध्यक्ष हाल बाहिर रहेकाले उनी फर्किएपछि सबै सरोकारवालालाई राखेर छलफल गरी निष्कर्षमा पुग्ने तयारी गरिएको छ ।
विवादबीच अर्को गम्भीर प्रश्न पनि उठेको छ । निमित्त प्रधानाध्यापक पाठकका अनुसार विद्यालय व्यवस्थापन समितिको पूर्ण बैठक नै सम्पन्न नभएको अवस्थामा अध्यक्ष चयन भएका नेत्रनारायण आचार्यले भने विभिन्न प्रशासनिक कागजातमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रूपमा हस्ताक्षर गरिरहेका छन् ।
पाठक भन्छन्, “मैले आवश्यक कागजातमा आफ्नो जिम्मेवारीअनुसार हस्ताक्षर गरेर राखेको हुन्छु। पछि उहाँ आएर अध्यक्षका रूपमा सही गर्नुभएको थाहा पाउँछौं। हाम्रो आपत्ति व्यक्ति विशेषसँग होइन, विधि र प्रक्रियासँग हो। पूर्ण बैठक नै नबसी यस्तो अधिकार प्रयोग गर्नु उचित होइन।”
विद्यालय व्यवस्थापन समिति गठनको विवाद सुरुबाटै प्रक्रियामै केन्द्रित रहँदै आएको छ । वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेले आफू विद्यालय व्यवस्थापन समितिमा रहने निर्णय विद्यालयलाई औपचारिक रूपमा जानकारी गराइसकेको दाबी गर्दै आएका छन् । तर उक्त जानकारीलाई बेवास्ता गर्दै वडा सदस्यको अध्यक्षतामा बैठक बसेर नेत्रनारायण आचार्यलाई व्यवस्थापन समितिको अध्यक्ष चयन गरिएको भन्दै त्यसको वैधानिकतामाथि प्रश्न उठाइएको छ ।
यसअघि रेसखबर अनलाइनले प्रकाशित गरेको समाचारमा व्यवस्थापन समिति गठनका क्रममा विद्यालयको आधिकारिक माइन्युट प्रयोग भएको प्रक्रिया, प्रधानाध्यापकको असहमति, शिक्षकमार्फत माइन्युट लेखिएको विषय तथा निर्णय प्रक्रियामा देखिएका कानुनी प्रश्नहरू उजागर गरेको थियो । तर त्यसयता विवाद समाधानतर्फ उन्मुख हुनुको सट्टा दुवै पक्ष आ–आफ्नो अडानमा कायम देखिएका छन् ।
यस घटनाक्रमले विद्यालयभित्र मात्र होइन, अभिभावकमाझ पनि असन्तुष्टि बढाएको छ । केही अभिभावकले विद्यालयमा शैक्षिकभन्दा राजनीतिक प्रभाव बढ्दै गएको आरोप लगाएका छन् । उनीहरूका अनुसार विद्यालय कुनै दल विशेषको प्रभाव क्षेत्र बन्न नहुने भएकाले कानुनविपरीत भएको निर्णयलाई वैधानिकता दिन खोजिए त्यसको प्रतिवाद गरिनेछ ।
नाम नखुलाउने सर्तमा एक अभिभावकले भने, “विद्यालय शिक्षाको मन्दिर हो, राजनीतिक शक्ति परीक्षण गर्ने स्थान होइन। यदि महानगरपालिकाले प्रक्रियाविपरीत गठन भएको समितिलाई नै मान्यता दियो भने हामी चरणबद्ध आन्दोलनमा जान बाध्य हुनेछौं।”
प्रेमबस्ती माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद अहिले एउटा विद्यालयको आन्तरिक असहमतिमा मात्र सीमित छैन । सार्वजनिक विद्यालयमा विधिसम्मत निर्णय प्रक्रिया, संस्थागत पारदर्शिता, स्थानीय सरकारको भूमिका तथा राजनीतिक हस्तक्षेपको सीमाबारे समेत यसले गम्भीर प्रश्न उठाएको छ । अ
ब महानगरपालिकाले गर्ने निर्णयले विवादको निकास मात्र होइन, सार्वजनिक विद्यालयमा कानुनी प्रक्रिया कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ भन्ने सन्देश पनि दिने अपेक्षा गरिएको छ ।



















