Logo

१८ असार, काठमाडौँ । मुलुकमा मनसुन सक्रिय भएसँगै डेंगु सङ्क्रमण तीव्र गतिमा फैलन थालेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) को पछिल्लो तथ्याङ्क अनुसार गत पुस १७ गतेदेखि यता ६ महिनाको अवधिमा देशका ७१ जिल्लामा डेंगु सङ्क्रमण विस्तार भइसकेको छ । यस अवधिमा कुल १ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भइसकेको छ ।

अघिल्ला वर्षहरूमा जस्तै यो वर्ष पनि डेंगुले देशव्यापी रूपमा जनस्वास्थ्यमा गम्भीर चुनौती खडा गर्ने सङ्केत देखाएको छ ।

प्रादेशिक विवरण अनुसार कुल सङ्क्रमितमध्ये सबैभन्दा ठुलो हिस्सा कोशी र बागमती प्रदेशमा देखिएको छ । कोशी प्रदेशमा २९२ र बागमती प्रदेशमा २६४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ। यस्तै लुम्बिनीमा १६७, गण्डकीमा १६१, सुदूरपश्चिममा ६९, मधेसमा ५२ र कर्णाली प्रदेशमा ३७ जना सङ्क्रमित फेला परेका छन् ।

जिल्लागत रूपमा झापा सबैभन्दा बढी प्रभावित बनेको छ, जहाँ हालसम्म १३८ रैथाने केसहरू भेटिएका छन् । यसैगरी काठमाडौँमा ६१, सुनसरीमा ५७, मकवानपुर र रूपन्देहीमा ५०–५०, कास्कीमा ४४, ओखलढुङ्गा र चितवनमा ३९–३९ तथा पाल्पामा ३४ जनामा सङ्क्रमण पुष्टि भएको छ।

सङ्क्रमणको ग्राफ उकालो लाग्न थालेपछि सरकारले नियन्त्रणका लागि पूर्वतयारी र बजेट व्यवस्थापन चुस्त बनाएको दाबी गरेको छ । स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार किटजन्य रोगका रूपमा रहेको डेंगु नियन्त्रणका लागि सरकारले ‘खोज र नष्ट गर’ (सर्च एन्ड डिस्ट्रोय) अभियानलाई प्राथमिकतामा राखेको छ। यस अभियानमा विद्यार्थी, सुरक्षाकर्मी र निजी क्षेत्रलाई समेत परिचालन गर्ने योजना छ ।

इडीसीडीका अनुसार आगामी आर्थिक वर्षका लागि महाशाखालाई कुल ३० करोड १६ लाख रुपैयाँ बजेट छुट्ट्याइएको छ । जसमध्ये स्थानीय तहहरूमा लामखुट्टेको लार्भा खोजेर नष्ट गर्ने अभियानका लागि मात्रै ३ करोड ५० लाख रुपैयाँ विशेष विनियोजन गरिएको छ । साथै, जिल्लास्तरमा समन्वय सहज बनाउन प्रत्येक जिल्लाका लागि थप ५० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

नेपालमा पहिलोपटक सन् २००४ मा विदेशी नागरिकमा डेंगु देखिएको थियो । त्यसयता एडिस इजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने यो रोग देशका सहरी तथा ग्रामीण क्षेत्रमा रैथाने बनिसकेको छ ।

स्वास्थ्य वार्षिक प्रतिवेदन अनुसार विगतका वर्षहरूमा डेंगु सङ्क्रमणको सङ्ख्या उतारचढावपूर्ण छ। आर्थिक वर्ष २०७९/०८० मा ५६ हजार ३३८, २०८०/०८१ मा ४८ हजार ८८३ र गत आर्थिक वर्ष २०८१/०८२ मा ५४ हजार ३५० जना सङ्क्रमित भएका थिए ।

सन् २०२२ (२०७९ साल) मा नेपालले अहिलेसम्मकै ठुलो डेंगु प्रकोप भोगेको थियो, जसमा ५४ हजार ७८४ जना सङ्क्रमित हुँदा ८८ जनाले ज्यान गुमाएका थिए । भेक्टर बर्न डिजिज रिसर्च एन्ड ट्रेनिङ सेन्टर (भीबीडीआरटीसी) को अध्ययनले पनि नेपालमा डेंगु सार्न दुवै प्रजातिका लामखुट्टे सक्रिय रहेको पुष्टि गरिसकेको छ ।

डेंगुका लक्षणहरू र बच्ने उपायहरू

सङ्क्रामक रोग विशेषज्ञहरूका अनुसार डेंगुको लक्षण सामान्य देखिएमा घरमै पारासिटामोल र झोलिलो खानेकुरा खाएर निको हुन सकिन्छ। तर, अत्यधिक पेट दुख्ने, शरीरका विभिन्न अङ्गबाट रक्तस्राव हुने र बेहोस हुने जस्ता कडा लक्षण देखिएमा भने ढिला नगरी तत्काल स्वास्थ्य संस्था पुग्नुपर्छ ।

डेंगु फैलाउने लामखुट्टेको टोकाइबाट बच्नु नै यसको मुख्य उपचार र रोकथाम भएकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। जस अन्तर्गत पानी जम्मा गरिएका ट्याङ्की, ड्रम, गाग्री वा बाल्टिनलाई लामखुट्टे छिर्न नपाउने गरी सधैँ राम्रोसँग छोपेर राख्नुपर्छ।

यसै गरी, घरवरपर, कार्यस्थल र सार्वजनिक स्थानमा पानी जम्न सक्ने पुराना सवारी साधनका टायर, प्लास्टिकका बट्टा, सिसी र बोतलहरूलाई तत्काल नष्ट गर्ने वा पानी नजम्ने गरी उचित व्यवस्थापन गर्नुपर्छ ।

घरभित्र वा बाहिर राखिएका गमला वा गमला मुनिको प्लेटमा जमेको पानीलाई हप्ताको कम्तीमा एक पटक अनिवार्य रूपमा फालेर सफा गर्नुका साथै बिहान, दिउँसो वा राति जुनसुकै समयमा सुत्दा पनि अनिवार्य रूपमा झुलको प्रयोग गर्नुपर्छ र घर बाहिर निस्कँदा शरीर पूरै ढाक्ने लामो बाहुला भएका कपडाहरू लगाउनुपर्छ ।


सम्बन्धित समाचार