१८ असार, काठमाडौँ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले आफ्ना सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको हत्याको बदला लिने औपचारिक घोषणा गरेको छ ।
सुरक्षा परिषद्का सचिव मोहम्मद बाकर जोलकद्रले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ (ट्विटर) मार्फत एक विशेष सन्देश जारी गर्दै खामेनीको हत्यामा संलग्न ‘हत्याराहरू’ सँग अवश्य नै बदला लिइने चेतावनी दिएका हुन् ।
इरानी सञ्चारमाध्यमहरूले सचिव बाकरद्वारा हस्ताक्षरित उक्त सन्देशलाई प्राथमिकताका साथ प्रकाशित गरेको बीबीसीले जनाएको छ ।
गत २८ फेब्रुअरी २०२६ मा इरानमाथि अमेरिकी र इजरायली सेनाले संयुक्त रूपमा पहिलोपटक हवाई आक्रमण गरेका थिए । सोही आक्रमणमा परी इरानका सर्वोच्च राजनीतिक तथा धार्मिक नेता खामेनीको मृत्यु भएको थियो ।
उक्त आक्रमणमा सर्वोच्च नेता खामेनीका साथै इरानका कयौँ अन्य उच्च सैन्य तथा राजनीतिक अधिकारीहरू र उनको परिवारका केही सदस्यहरूको समेत ज्यान गएको थियो । सो घटनापछि मध्यपूर्वमा कूटनीतिक तथा सैन्य तनाव उत्कर्षमा पुगेको छ ।
बीबीसीका अनुसार दिवंगत सर्वोच्च नेता खामेनीको अन्तिम संस्कार तथा शोक सभा आगामी ४ जुलाईदेखि ८ जुलाईसम्म गरिने तयारी थालिएको छ । पाँच दिनसम्म चल्ने अन्तिम संस्कार समारोह इरानका प्रमुख शहरहरू तेहरान, कोम र मशहदमा आयोजना गरिनेछ ।
इरानमा मात्र नभई छिमेकी मुलुक इराकका धार्मिक एवं ऐतिहासिक शहरहरू बगदाद, काजमिन, कर्बला र नजफमा समेत खामेनीको सम्झनामा विशेष शोक सभाहरू आयोजना गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सुरक्षा परिषद्को यो पछिल्लो घोषणाले अमेरिका र इजरायलसँग इरानको टकराव थप हिंसक बन्न सक्ने खतरा बढाएको छ ।



















