१९ असार, काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोल पम्पहरूको नियमनलाई थप कडा पार्दै उचित कारणबिना पम्प बन्द गरी बजारमा इन्धन अभाव सिर्जना गर्ने व्यवसायीहरूलाई भारी जरिवाना र कारबाही गर्ने नयाँ कानुनी व्यवस्था गरेको छ ।
पेट्रोलियम व्यवसायीले इन्धनको मूल्य घट्ने अनुमान गर्दै मंगलबार आयल निगमको डिपोबाट तेल नउठाउँदा बुधबार बिहानदेखि देशैभर पेट्रोलियम पदार्थको आपूर्ति असहज बनेपछि सरकारले यो कठोर कदम चालेको हो ।
अत्यावश्यक वस्तुको आपूर्ति ठप्प पार्ने व्यवसायीलाई तत्काल कारबाही गर्ने बलियो कानुनी आधार नभेटिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बुधबार साँझ नै नयाँ कानुनी मार्गचित्र तयार गर्न निर्देशन दिएकी थिईन् ।
मन्त्री यादवको निर्देशनलगत्तै बुधबार साँझ नै बसेको निगमको सञ्चालक समितिको बैठकले ‘पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५’ संशोधन गर्दै पम्प बन्द गर्ने वा तेल लुकाउने व्यवसायीलाई तीन लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना र ५ दिनदेखि १५ दिनसम्म इन्धन वितरण रोक्का गर्ने निर्णय गरेको हो ।
संशोधित विनियमावलीको दफा २९ घ १ मा ‘बिक्रेताले नोजल ड्राई गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने’ भन्ने नयाँ प्रतिबन्धात्मक व्यवस्था थपिएको छ । जस अनुसार यो कसुर पहिलो पटक गर्ने पम्प सञ्चालकलाई ३ लाख रुपैयाँ जरिवाना र ५ दिनसम्म निगमको डिपोबाट इन्धन आपूर्ति रोक्का गरिनेछ । सोही गल्ती दोस्रो पटक दोहोर्याएमा ६ लाख रुपैयाँ जरिवानासहित १० दिन र तेस्रो पटक पनि सोही कसुर गरेको पाइएमा १० लाख रुपैयाँ जरिवाना तोकी १५ दिनसम्मका लागि निगमबाट हुने इन्धन आपूर्ति पूर्ण रूपमा बन्द गरिने व्यवस्था छ ।



















