Logo

१९ असार, भरतपुर । भरतपुर महानगरपालिका–५, गुम्बाटोलस्थित सानो घर बालगृहमा आश्रित बालिकाहरूलाई लक्षित गरी सञ्चालन भइरहेको बालबालिकाका लागि क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत आज १२औँ दिन प्रेरणादायी प्रशिक्षण सम्पन्न भएको छ।

मिति २०८३ साल असार ७ गतेदेखि २१ गतेसम्म सञ्चालन भइरहेको उक्त कार्यक्रमको १२औँ दिन जिल्ला प्रहरी कार्यालय, चितवन अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख प्रहरी निरीक्षक अस्मिता गोदारले प्रशिक्षण प्रदान गरेकी हुन् ।

प्रहरी निरीक्षक गोदारले बालिकाहरूलाई जीवनमा सफल हुनका लागि अनुशासन, आत्मविश्वास, सकारात्मक सोच र निरन्तर अध्ययन अपरिहार्य रहेको बताईन् । उनले “म गर्न सक्छु” भन्ने दृढ आत्मविश्वासका साथ अघि बढेमा जीवनका कठिन चुनौतीहरू पनि सहज रूपमा पार गर्न सकिने उल्लेख गरिन् ।

उनले संस्थाले बालिकाहरूको उज्ज्वल भविष्य निर्माणका लागि निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै त्यसको सम्मानस्वरूप बालिकाहरूले पनि अध्ययनलाई निरन्तरता दिन, अनुशासित बन्न र प्राप्त हुने हरेक अवसरलाई सिकाइ तथा आत्मविकासको माध्यमका रूपमा उपयोग गर्न आग्रह गरिन् ।

प्रशिक्षणका क्रममा उहाँले स्वास्थ्य नै जीवनको सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै स्वस्थ जीवनशैली अपनाउन, खराब बानी तथा दुर्व्यसनबाट टाढा रहन र सन्तुष्ट जीवन नै वास्तविक सफलता भएको सन्देश दिईन् ।

त्यसैगरी, नेपाल प्रहरीको जिम्मेवारीबारे जानकारी दिँदै उनले प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने, अपराध हुन नदिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताईन् ।

कार्यक्रममा बालिकाहरूले विभिन्न जिज्ञासा राखेका थिए भने प्रहरी निरीक्षक गोदारले उनीहरूका प्रश्नहरूको सहज र प्रेरणादायी ढंगले उत्तर दिँदै आत्मविश्वासका साथ भविष्य निर्माण गर्न हौसला प्रदान गरिन् ।

आजको कार्यक्रममा सानो घर बालगृहका कार्यसमिति सदस्यहरूको समेत उपस्थिति थियो । सहभागीहरूले यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमले बालिकाहरूको व्यक्तित्व विकास, सकारात्मक सोच, अनुशासन र जिम्मेवार नागरिक बन्ने आधार तयार गर्ने विश्वास व्यक्त गरेका थिए ।


सम्बन्धित समाचार