१८ असार,काठमाडौं । गाली बेइज्जती मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाएका पत्रकार खेम भण्डारीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेपछि कारागार चलान गरिएको छ।
जिल्ला अदालत कञ्चनपुर र उच्च अदालत दिपायल–महेन्द्रनगर इजलासबाट भएको फैसलाअनुसार भण्डारीलाई एक महिना सात दिन कैद तथा १२ हजार एक सय रुपैयाँ जरिवाना सजाय तोकिएको थियो। फैसला कार्यान्वयनका क्रममा बिहीबार उनलाई कारागार पठाइएको हो।
कारागार चलान हुनुअघि भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ अनुसार जरिवाना रकम बुझाएर कैद सजाय मिलान गर्न पाउने सुविधा माग गर्दै कानुन व्यवसायीमार्फत जिल्ला अदालत कञ्चनपुरमा निवेदन दिएका थिए। तर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उक्त माग अस्वीकार गरेपछि उनलाई कारागार पठाइएको अदालतले जनाएको छ।
जिल्ला अदालतका तहसिलदार नारायणदत्त ओझाका अनुसार कैद मिलानसम्बन्धी व्यवस्था पहिलो पटक कैद सजाय पाउने व्यक्तिका हकमा मात्र लागू हुने कानुनी प्रावधान रहेको छ। भण्डारी यसअघि पनि अर्को मुद्दामा कैद सजाय पाइसकेकाले उक्त सुविधा नपाएको उनले बताए।
पत्रकार भण्डारी यसअघि पनि निर्मला पन्त हत्या प्रकरणसँग सम्बन्धित अर्को मुद्दामा दोषी ठहर भई एक घण्टा कैद र एक रुपैयाँ जरिवानाको सजाय भोगिसकेका थिए।
पछिल्लो मुद्दा भने निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणसँग सम्बन्धित समाचार प्रकाशनका क्रममा भएको गाली बेइज्जतीसम्बन्धी हो। जिल्ला अदालत कञ्चनपुरले २०८२ साल जेठ १ गते भण्डारीलाई गाली बेइज्जतीको कसुरमा दोषी ठहर गर्दै एक महिना कैद, १० हजार रुपैयाँ जरिवाना तथा एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको थियो।
उक्त फैसलाउपर पुनरावेदन हुँदा उच्च अदालत दिपायल–महेन्द्रनगर इजलासले थप सात दिन कैद र दुई हजार एक सय रुपैयाँ जरिवाना थप गरेको थियो। त्यसपछि अन्तिम फैसला कार्यान्वयनका लागि प्रहरीले उनलाई पक्राउ गरेको हो।
यो मुद्दा निर्मला पन्त हत्या प्रकरणसँग जोडिएको समाचारका कारण दायर भएको थियो। कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टका छोरा तथा राष्ट्रिय समाचार समितिमा कार्यरत पत्रकार किरण विष्टले आफूलाई तथ्यहीन रूपमा घटनासँग जोडेर समाचार प्रकाशन गरिएको भन्दै भण्डारीविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए।
उल्लेखनीय रूपमा, २०७५ साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्त साथीको घरमा पढ्न गएको भन्दै घरबाट निस्किएकी थिइन्। भोलिपल्ट उनको शव भीमदत्त नगरपालिका–२ स्थित निम्बुखेडा खोलानजिकैको उखुबारीमा फेला परेको थियो। बलात्कारपछि हत्या भएको उक्त घटनाका वास्तविक दोषी अहिलेसम्म पहिचान हुन नसक्दा यो प्रकरण अझै चर्चामा रहँदै आएको छ।



















