१९ असार, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौँ उपत्यकामा हुँदै आएको पानी आपूर्ति शुक्रबारदेखि अस्थायी रूपमा बन्द भएको छ ।
मनसुन सक्रिय भएसँगै मेलम्ची नदीमा आएको बाढीका कारण पानी अत्यधिक धमिलो भएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले सावधानी अपनाउँदै पानी ल्याउने प्रक्रिया रोकेको हो ।
मुहानमा पानीको गुणस्तर निकै खस्किएकाले सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी प्रशोधन गर्न कठिन भएको र यसले वितरण प्रणालीमा असर पार्ने भएकाले आपूर्ति बन्द गर्नु परेको प्रवक्ता वीरबहादुर चन्दले जानकारी दिनुभएको छ ।
हाल वर्षा निरन्तर जारी रहेकाले पानीको बहाव र गुणस्तरमा सुधार नआएसम्म आपूर्ति सञ्चालन गर्न केही समय लाग्ने देखिएको छ । पानीको गुणस्तरमा सुधार आउनासाथ पूर्ववत् तालिकाअनुसार पुनः वितरण कार्य सुचारु गरिने आयोजनाले जनाएको छ ।



















