१९ असार, काठमाडौं । नेपाल औषधि व्यवसायी संघ, काठमाडौँले औषधि खरिद(बिक्रीमा कडाइ गर्दै आधिकारिक माध्यमबाट मात्र कारोबार गर्न सम्पूर्ण व्यवसायीहरूलाई आग्रह गरेको छ ।
बिहीबार एक सूचना जारी गर्दै संघले गुणस्तरीय र सुरक्षित औषधि आपूर्ति सुनिश्चित गर्न आधिकारिक उत्पादक, आयातकर्ता वा तिनले तोकेका अधिकृत थोक विक्रेताबाहेक अन्य व्यक्ति वा स्रोत नखुलेका माध्यमबाट औषधि खरिद–बिक्री नगर्न सचेत गराएको हो । स्रोत पुष्टि नभएका औषधिको कारोबारले जनस्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने भन्दै संघले यस्तो कार्य व्यवसायको मर्यादा र कानुनविपरीत हुने स्पष्ट पारेको छ ।
संघका महासचिव शुभमान श्रेष्ठका अनुसार, औषधिको कारोबार गर्दा बिलबिजक जारी गर्दा वा कम्प्युटर प्रणालीमा प्रविष्ट गर्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । संघले थोक तथा खुद्रा व्यवसायीहरूलाई औषधि प्राप्त गर्दा नै ब्याच नम्बर, म्याद सकिने मिति (एक्सपायर डेट), खुद्रा मूल्य (एमआरपी) र परिमाण (क्वान्टिटी) अनिवार्य रूपमा रुजु गर्न र तिनको व्यवस्थित अभिलेख राख्न निर्देशन दिएको छ ।
आधिकारिक प्रक्रियाबाट आएका औषधिको मात्र कारोबार गर्दा सेवाग्राहीको स्वास्थ्य सुरक्षासँगै व्यावसायिक पारदर्शिता कायम हुने भएकाले सबै व्यवसायीलाई पूर्ण पालनाका लागि संघले अपिल गरेको छ ।




















