१९ असार,वीरगञ्ज । ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगर वीरगञ्जको आयोजनामा सामुदायिक साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका नवनियुक्त प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेताको अध्यक्षतामा आयोजित कार्यक्रममा हालै सरुवा भई जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको प्रमुखको जिम्मेवारी सम्हाल्न आएका प्रहरी निरीक्षक श्रेष्ठलाई स्वागत तथा परिचय गराइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि रुगटा वेलफेयर सोसाइटीका अध्यक्ष तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका सल्लाहकार सुरेश रुगटा रहेका थिए। कार्यक्रममा ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, दुर्घटना न्यूनीकरण तथा सामुदायिक प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको थियो।
छलफलका क्रममा सहभागीहरूले ट्राफिक अनुशासन कायम गर्न प्रहरी र नागरिकबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए। साथै, ट्राफिक सचेतना अभिवृद्धि, नियमको प्रभावकारी कार्यान्वयन र समुदायको सक्रिय सहभागितामार्फत सुरक्षित सडक वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष जयप्रकाश खेताले समुदाय र प्रहरीबीचको समन्वयले सुरक्षित, व्यवस्थित तथा अनुशासित समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा पनि यस्ता सामुदायिक साझेदारी कार्यक्रमलाई निरन्तरता दिइने बताए।
नवनियुक्त प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय समुदाय, विभिन्न संघसंस्था तथा नागरिकसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले ट्राफिक नियमको पालना र जनचेतना अभिवृद्धिमा सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका पदाधिकारी, सदस्य, विभिन्न क्षेत्रका समाजसेवी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



















