१९ असार, काठमाडौं । इरानले आफ्ना पूर्वसर्वोच्च नेता अयातुल्लाह अली खामेनीको आगामी अन्त्येष्टि समारोहलाई लक्षित गरी कुनै पनि बाह्य आक्रमण वा कारबाही गरिए त्यसको कठोर प्रतिवाद गर्ने चेतावनी दिएको छ ।
इरानको खातम अल–अन्बिया केन्द्रीय मुख्यालयका कमान्डर मेजर जनरल अली अब्दुल्लाहीले अमेरिका, इजरायल र उनीहरूका सहयोगी राष्ट्रहरूलाई यस्तो चेतावनी दिएका हुन् । तस्निम समाचार एजेन्सीका अनुसार, अब्दुल्लाहीले खामेनीको अन्त्येष्टिअघि इरानविरुद्ध कुनै पनि ‘गलत कदम’ नचाल्न स्पष्ट पारेका छन् । उनले भनेका छन्, “इरानको भूभाग वा क्षेत्रविरुद्ध हुने कुनै पनि आक्रामक कारबाहीको सामना गर्न हामी पूर्ण तयार छौँ, यस्तो प्रयास गर्नेहरूले पछुतो मान्नुपर्ने गरी कडा जवाफ दिइनेछ ।”
साथै, उनले यस अन्त्येष्टि समारोहले आफ्ना नेताको मृत्युको बदला लिन इरानी जनता थप दृढ र एकताबद्ध छन् भन्ने सन्देश दिने दाबी गरेका छन् ।
यसैबीच, तेहरानमा आयोजित हुने अन्त्येष्टि समारोहका लागि विशाल तयारी भइरहेको छ । तेहरान नगरपालिकाका अनुसार, यही असार २० गते (जुलाई ४) देखि असार २४ गते (जुलाई ८) सम्म चल्ने उक्त समारोहमा करिब १ करोड ५० लाखदेखि २ करोड मानिस सहभागी हुने अनुमान गरिएको छ ।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै इरानले आफ्नो सैन्य सतर्कता उच्च पारेको छ ।



















