२१ असार, काठमाडौं । लामो समयदेखि देशकै प्रमुख र सास्तीपूर्ण सडक खण्डका रूपमा चिनिएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको दाउन्ने सडक खण्डले अब नयाँ जीवन पाउने भएको छ ।
दाउन्नेको चुनौतीपूर्ण भौगोलिक बनावट र अत्यधिक सवारी चापलाई मध्यनजर गर्दै यस पटक परम्परागत कालोपत्रेको सट्टा अत्याधुनिक र गुणस्तरीय ढलान (कङ्क्रिटिङ) प्रविधि अपनाइएको छ ।
सडक विभाग आयोजना निर्देशनालय (एडीबी) का अनुसार यो नयाँ सडकको आयु कम्तीमा ३० वर्ष हुने ग्यारेन्टी गरिएको छ, जसले वर्षौँदेखि यात्रु र चालकले भोग्दै आएको कष्टकर यात्रालाई दीर्घकालीन रूपमा अन्त्य गर्ने विश्वास जगाएको छ ।
अहिले दाउन्ने मन्दिर मुनिको पहिरो प्रभावित क्षेत्रमा करिब ५० मिटर जति एकतर्फी ढलानको काम मात्र बाँकी रहेकाले आयोजना अब अन्तिम चरणमा पुगेको छ ।सडकको एकातर्फको भाग पूर्ण रूपमा निर्माण भई सवारी साधनहरू सञ्चालनमा समेत आइसकेका छन् ।
विगतमा कालोपत्रे गर्दा सडक छिटो बिग्रने र बर्सेनी पहिरो तथा हिलोधुलोको समस्या झेल्नुपर्ने बाध्यतालाई चिर्न नै आयोजनाले यस पटक बलियो कङ्क्रिट ढलाइको विकल्प रोजेको हो ।
आगामी दिनमा यस खण्डमा हुने सडक अवरोध र निरन्तर मर्मतको झन्झटबाट पूर्ण मुक्ति मिल्ने सरकारको अपेक्षा छ।
आयोजनाका निर्देशक चुडाराज ढकालका अनुसार यो सडकलाई आगामी तीन दशकसम्मको ट्राफिक चाप थेग्न सक्ने गरी डिजाइन गरिएको हो ।
दैनिक १२ देखि २० हजारसम्म सवारी साधन आवतजावत गर्दा पनि सडकमा कुनै क्षति नपुग्ने गरी संरचना तयार पारिएको छ। यस सडकको भारवहन क्षमता एकल चक्कामा १० टन निर्धारण गरिएको छ ।
यदि सडकमा गुड्ने सवारी साधनको भारलाई उचित रूपमा नियन्त्रण गर्न सकिए र अन्य प्राविधिक मापदण्डहरू पालना भएमा यो सडक सजिलै ४० वर्षसम्म पनि टिक्न सक्ने दाबी आयोजनाले गरेको छ ।



















