Logo

२१ असार, काठमाडौँ । सशस्त्र प्रहरी बलको कल्याणकारी कोषअन्तर्गत सञ्चालित एपीएफ स्कुलमा भएको ठुलो आर्थिक अनियमितता प्रकरण बाहिर आएको छ ।

विद्यालयको लेखा शाखामा कार्यरत इन्स्पेक्टर कल्पना गुरुङले लामो समयदेखि नियोजित रूपमा विद्यालयको रकम आफ्नो व्यक्तिगत स्वार्थ र प्रेमीको व्यापारमा प्रयोग गरेको पाइएपछि उनी पक्राउ परेकी छिन् ।

के हो ११ करोडको घोटाला प्रकरण ?

सशस्त्र प्रहरीको मापदण्डलाई लत्याउँदै विगत ६ वर्षदेखि एपीएफ स्कुलको लेखा अधिकृतको जिम्मेवारी सम्हालेकी इन्स्पेक्टर गुरुङले संस्थागत रकम हिनामिना गरेको पुष्टि भएको छ । सुरुमा ७ करोड रुपैयाँको हिसाब नमिलेपछि सुरु भएको छानबिनको दायरा बढ्दै जाँदा हिनामिनाको अंक ११ करोड नाघेको छ ।

अनुसन्धानअनुसार, उनले विद्यालयको खातामा जानुपर्ने रकमलाई कनेक्ट आईपीएस मार्फत आफ्नो प्रेमी लीलाबहादुर लामाका कम्पनीहरू- एम एडभेन्चर ट्राभल एण्ड टुर्स, हाम्रो टिकेट प्रालि र एमडी होलिडेज प्रालिको खातामा ट्रान्सफर गर्ने गरेको पाइएको छ । सो रकम मिटर ब्याजमा लगानी गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

कीर्ते हस्ताक्षर र संस्थागत कमजोरी

यस प्रकरणमा इन्स्पेक्टर गुरुङको चलाखीपूर्ण आपराधिक शैली पनि सार्वजनिक भएको छ । उनले विद्यालयका तत्कालीन समादेशक (हाल डीआईजी) दिग्विजय सुवेदीको हस्ताक्षरसमेत कीर्ते गरी कनेक्ट आईपीएसको माध्यमबाट रकम पठाउने गरेको पाइएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सशस्त्र प्रहरी डीआईजी युवराज अर्याल नेतृत्वको छानबिन समितिको सिफारिसमा गुरुङ र लामालाई पक्राउ गरेको हो । उनीहरूविरुद्ध आपराधिक विश्वासघात, ठगी र सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धान अघि बढेको छ ।

डीएसपी महेन्द्र हमालको शंकास्पद भूमिका

यो घोटाला काण्डमा इन्स्पेक्टर गुरुङको मात्र होइन, केन्द्रीय कल्याणकारी कोषमा कार्यरत डीएसपी महेन्द्र हमालको भूमिकामाथि पनि गम्भीर प्रश्न उठेको छ ।

विद्यालयबाट कोषमा जम्मा हुनुपर्ने करिब ९ करोड रुपैयाँ लामो समयसम्म जम्मा नहुँदा पनि उनले कुनै चासो नदेखाउनुले उनको लापरबाही वा मिलेमतोतर्फ शंका बढाएको छ । स्रोतका अनुसार, फागुन महिनामै विद्यालय प्रशासनले रकम जम्मा भए–नभएको बारे जिज्ञासा राख्दै पठाएको पत्र डीएसपी हमालले गायब पारेका थिए ।

लगातार ८ वर्षदेखि कोषको जिम्मेवारीमा रहेका हमालले मापदण्डविपरीत भइरहेको अनियमिततालाई नजरअन्दाज गर्नुले सशस्त्रभित्रको प्रशासनिक नियन्त्रण कमजोर रहेको तस्बिर उजागर गरेको छ ।


सम्बन्धित समाचार