Logo

२१ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जको कुख्यात जंगली भाले हात्ती ‘ध्रुवे’ ले फेरि एउटै बोटे परिवारमा ठूलो वज्रपात गराएको छ।

शनिबार राति करिब ११ बजे भरतपुर महानगरपालिका–२३ मा ध्रुवेले घरभित्रै पसेर आक्रमण गर्दा २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय नाति भरत बोटेको घटनास्थलमै मृत्यु भएको छ। विगतमा आशिकाका सासु र ससुराको ज्यान समेत यही हात्तीको आक्रमणबाट भएको थियो। यस दुःखद घटनासँगै एउटै परिवारका चार सदस्य ध्रुवेको शिकार बनेका छन्।

आमा-छोराले ज्यान गुमाएको त्यो कहालीलाग्दो रात

घटनाका बेला घरभित्र परिवारका अन्य सदस्यहरू पनि उपस्थित थिए। अचानक जंगली हात्ती घरभित्र प्रवेश गरेपछि आशिकाले आफ्नो चार वर्षको छोरालाई काखमा च्यापेर ज्यान जोगाउन भाग्ने प्रयास गरेकी थिइन्। तर, उनी घरबाहिर निस्कन नपाउँदै ध्रुवेले हिंस्रक आक्रमण गर्दा आमा–छोरा दुवैको घटनास्थलमै ज्यान गएको हो।

थप क्षति रोक्न घरकै छानामा आगो, पीडितको घर खरानी

आक्रमण भइरहेका बेला आशिकाका श्रीमान्ले ध्रुवेलाई तर्साउन र परिवारका अन्य सदस्यहरूलाई जोगाउन अदम्य साहस देखाउँदै घरको छानामा आगो लगाइदिएका थिए ।

आगोको मुस्लो र धुवाँ फैलिएपछि ध्रुवे त्यहाँबाट अन्यतर्फ लाग्यो। सोही अवसरको फाइदा उठाउँदै घरभित्र रहेका अन्य सदस्यहरू सुरक्षित रूपमा बाहिर निस्कन सफल भएको भरतपुर–२३ का वडा अध्यक्ष दीपक दवाडीले जानकारी दिए ।

उनका अनुसार समयमै आगो नबालिएको भए ध्रुवेले वरपरका अन्य घरहरूमा समेत आक्रमण गरी अझ ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याउने निश्चित थियो । आगलागीका कारण पीडित परिवारको घर भने पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

उच्चस्तरीय टोलीद्वारा घटनास्थलको निरीक्षण, स्थानीय आक्रोशित

घटनाको जानकारी पाएलगत्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, वडा अध्यक्ष दीपक दवाडी तथा निकुञ्जका प्रमुख संरक्षण अधिकृतसहितको टोली घटनास्थल पुगेको थियो ।

टोलीले पीडित परिवारलाई भेटेर सान्त्वना दिनुका साथै जलेको घरको निरीक्षण गर्दै स्थानीयवासीसँग घटनाबारे विस्तृत छलफल गरेको थियो। सो क्रममा स्थानीयले हात्तीको गतिविधि ट्र्याक गर्ने रेडियो–कलर र जीपीएस प्रणाली २४सै घण्टा प्रभावकारी हुन नसकेको भन्दै तीव्र असन्तुष्टि जनाए । उनीहरूले निगरानी चुस्त भएको भए हात्ती बस्तीमा छिर्नुअगावै सूचना पाएर जोगिन सकिने गुनासो गरे ।

२४ सै घण्टा जीपीएस निगरानी बलियो बनाउन मन्त्रीको निर्देशन

स्थानीयको गुनासो सुनेपछि मन्त्री सोबिता गौतमले जोखिमयुक्त वन्यजन्तुको २४सै घण्टा जीपीएस निगरानीलाई प्रभावकारी बनाउन निर्देशन दिएकी छन् ।

उनले यसका लागि आवश्यक जनशक्ति, उपकरण, बजेट तथा व्यवस्थापनबारे विस्तृत प्रतिवेदन तत्काल मन्त्रालयमा पठाउन निकुञ्ज प्रशासनलाई निर्देश गरिन् । वन्यजन्तु संरक्षणसँगै मानव जीवनको सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण रहेको भन्दै उनले दुवै पक्षको सन्तुलित व्यवस्थापन हुनुपर्नेमा जोड दिइन् ।

मृतकका परिवारलाई राहत र घर पुनर्निर्माणको प्रतिबद्धता

राहतका सम्बन्धमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले पीडित परिवारलाई तत्काल क्रियाखर्चका लागि प्रतिमृतक एक लाख रुपैयाँका दरले कुल दोई लाख रुपैयाँ उपलब्ध गराइने बताएका छन् ।

यसका साथै सरकारको प्रचलित व्यवस्था अनुसार मृतकका परिवारलाई प्रतिव्यक्ति १०/१० लाख रुपैयाँ राहत रकम दिइने र पीडित परिवारको घर पुनर्निर्माणका लागि काठ, गिट्टी, बालुवा लगायतका सामग्री र आवश्यक जनशक्ति परिचालन गरी पूर्ण सहयोग गरिने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

‘ध्रुवे’ को १७ वर्षे आतंकले २५ जनाको ज्यान लियो, नियन्त्रणका प्रयास असफल

वि.सं. २०६६ सालदेखि मानव बस्तीमा आतंक मच्चाउँदै आएको ध्रुवे हात्तीले हालसम्म २५ जनाको ज्यान लिइसकेको छ । यसअघि ध्रुवेलाई गोली हानेर मारिएको भन्ने हल्ला चले पनि पछिल्लो घटनाले त्यो सूचना पूर्ण रूपमा गलत साबित गरिदिएको छ ।

विगतमा सेनासमेत परिचालन गरेर लाखौँ रुपैयाँ खर्चिँदा पनि ध्रुवे नियन्त्रणमा आउन सकेको थिएन । त्यसपछि यसको घाँटीमा पटक–पटक रेडियो–कलर जडान गर्ने, बेहोस बनाएर निगरानी गर्ने तथा आक्रामक व्यवहार रोक्न औषधि प्रयोग गरिए पनि ती सबै प्रयास असफल देखिएका छन् ।

जीपीएस प्रणालीको कमजोरी र मानव-वन्यजन्तु द्वन्द्वमाथि बहस

निकुञ्ज हुँदै माडी आवतजावत गर्ने सर्वसाधारण वर्षौंदेखि जंगली हात्ती, बाघ, गैँडा लगायतको त्रासमा यात्रा गर्न बाध्य छन् ।

ध्रुवेको यो पछिल्लो विभत्स आक्रमणले मानव–वन्यजन्तु द्वन्द्वको उग्र रूप, निकुञ्जको फितलो निगरानी प्रणाली र नागरिक सुरक्षाप्रति राज्यको तयारीमाथि पुनः एकपटक गम्भीर राष्ट्रिय बहसको सिर्जना गरिदिएको छ ।

 


सम्बन्धित समाचार