२२ असार, वीरगञ्ज । तराई क्षेत्रमा विगत केही दिनदेखि जारी अत्यधिक गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा पर्न सक्ने गम्भीर असरलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाले विद्यालय सञ्चालनको समयमा फेरबदल गरेको छ । महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरूलाई दुई दिनका लागि बिहानी सत्रमा मात्रै कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।
महानगरपालिकाले आइतबार राति सवाँ ९ बजे आफ्नो आधिकारिक सामाजिक सञ्जाल (फेसबुक) मार्फत एक जरुरी सूचना जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो ।
महानगरको शिक्षा महाशाखाका अनुसार आज असार २२ र भोलि असार २३ गते दुई दिनका लागि मात्रै यो व्यवस्था लागू हुनेछ । सो अवधिभर महानगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत (निजी) दुवै प्रकृतिका विद्यालयहरूले पठनपाठन अनिवार्य रूपमा बिहान ६:०० बजे सुरु गरी ९:३० बजेभित्रै सम्पन्न गरिसक्नुपर्नेछ ।
दिउँसोको समयमा तापक्रम उच्च भई कक्षाकोठाभित्रै विद्यार्थीहरू बेहोस हुने, झाडापखाला लाग्ने र स्वास्थ्यमा अन्य जटिलता देखिन थालेपछि अभिभावक तथा सरोकारवालाहरूको सुझावका आधारमा महानगरले तत्काल यो कदम चालेको हो ।
महानगरपालिकाले यो निर्णयलाई पूर्ण रूपमा पालना गराउन सम्बन्धित सबै विद्यालयका प्रधानाध्यापक र सञ्चालकहरूलाई सचेत गराएको छ । तोकिएको समयभन्दा ढिला युनिफर्म लगाएर विद्यार्थीहरूलाई घाममा हिँडाउन वा कक्षा सञ्चालन गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।
दुई दिनको मौसमी अवस्था र तापक्रमको विश्लेषण गरेपछि असार २४ गतेदेखि विद्यालय साविककै समयमा सञ्चालन गर्ने वा अन्य विकल्प अपनाउने भन्नेबारे थप निर्णय लिइने महानगरपालिकाले जनाएको छ ।



















