Logo

२२ असार, काठमाडौं । एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डा दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुग्नुभएको छ ।

आइतबार राति १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएका अध्यक्ष कान्डालाई अर्थसचिव घनश्याम उपाध्यायले स्वागत गर्नुभयो । अध्यक्ष कान्डाको यो भ्रमणलाई निकै महत्त्वका साथ हेरिएको छ। भ्रमणको मुख्य आकर्षणका रूपमा रहेको प्रधानमन्त्री बालेन्द्र शाहसँगको औपचारिक भेटवार्ता मङ्गलबार हुने कार्यक्रम छ ।

प्रधानमन्त्रीमा निर्वाचित भएयता शाहको यो पहिलो उच्चस्तरीय विदेशी पाहुनासँगको भेट हुनेछ । त्यसअघि सोमबार दिउँसो ३ बजे अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग अध्यक्ष कान्डाले द्विपक्षीय छलफल गर्ने तय भएको अर्थ मन्त्रालयले जनाएको छ । काठमाडौँ आइपुग्दै गर्दा सामाजिक सञ्जालमार्फत अध्यक्ष कान्डाले नेपालको उत्थानशीलताको प्रशंसा गर्नुभएको छ । ‘नेपालले कठिन समयमा पनि असाधारण धैर्य र क्षमता प्रदर्शन गरेको छ,’ उहाँले भन्नुभयो,’ ३ अर्ब ९० करोड डलरभन्दा बढी सक्रिय लगानी रहेको हाम्रो संस्था, नेपालको नयाँ अध्यायमा थप सहयोग गर्न तत्पर छ ।’

आफ्नो भ्रमणका क्रममा अध्यक्ष कान्डाले नेपालको आर्थिक वृद्धिको आधार निर्माण गर्न, दीर्घकालीन प्रगतिका अवसरहरू पहिचान गर्न र नयाँ सरकारका प्राथमिकताहरूबारे छलफल गर्ने बताउनुभएको छ । साथै, नेपालको खानेपानी तथा ढलनिकास र भन्सार तथा पारवहन क्षेत्रको विकासका लागि दुईवटा महत्त्वपूर्ण सहयोग सम्झौतामा हस्ताक्षर हुने बताइएको छ ।

सन् २०१६ मा तत्कालीन अध्यक्ष ताकेहितो नाकाओको भ्रमणपछि झन्डै एक दशकको अन्तरालमा हुन लागेको यो भ्रमणले नेपाल-एडीबी सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ । सन् १९६६ मा एडीबीको संस्थापक सदस्य बनेको नेपालले १९६८ देखि निरन्तर सहयोग प्राप्त गर्दै आएको छ। हाल नेपालमा करिब ६ खर्ब रुपैयाँ बराबरका एडीबी लगानीका परियोजनाहरू सञ्चालनमा छन् ।


सम्बन्धित समाचार