Logo

 २२ असार,काठमाडौं ।  नागढुंगा–मुग्लिन सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डको नौबिसे–मलेखु सडक निर्माणले गति लिएको छ। ४३ किलोमिटर लामो यस खण्डमा हालसम्म २५ किलोमिटर कालोपत्रे र दुई किलोमिटर ढलान (रिजिड पेभमेन्ट) सम्पन्न भएको छ।

नागढुंगा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) का योजना प्रमुख केशव ओझाका अनुसार आयोजनाको समग्र भौतिक प्रगति ६० प्रतिशत पुगेको छ। चालु आर्थिक वर्षमा ७५ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य रहे पनि अन्तर्राष्ट्रिय बजारमा बिटुमिन अभावका कारण लक्ष्य प्रभावित भएको उनले बताए।

उनका अनुसार पहिलो प्याकेजअन्तर्गत पर्ने नागढुंगा–नौबिसे खण्डको भौतिक प्रगति ८८ प्रतिशत पुगेको छ। नौबिसे–मलेखु खण्डमा सम्पन्न २५ किलोमिटर कालोपत्रेमध्ये २.५ किलोमिटर दुई लेनमा गरिएको छ भने बाँकी २२.५ किलोमिटर सडकको पूर्ण चौडाइमा कालोपत्रे सम्पन्न भएको छ।

योजना प्रमुख ओझाले मौसम अनुकूल भए वर्षा अगावै थप सडक कालोपत्रे गर्ने लक्ष्य रहेको बताए। उनले पहिलो प्याकेजको काम अन्तिम चरणमा पुगेको र दोस्रो प्याकेजमा पनि निर्माणले तीव्रता पाएको जानकारी दिए।

निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर ज्ञानेन्द्र घिमिरेले मौसमले साथ दिए आगामी केही दिनभित्र थप ६ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको बताए। बिटुमिन आपूर्ति सहज भएपछि नौबिसे–मलेखु खण्डमा थप ३.३ किलोमिटर सडक कालोपत्रे गरिएको उनले जानकारी दिए।

हाल निर्माण कम्पनीले दैनिक ४०० देखि ५०० मिटरसम्म सडक कालोपत्रे गर्ने क्षमताका साथ काम गरिरहेको छ। प्रतिकूल मौसम र प्राविधिक चुनौतीका कारण निर्माण कार्य प्रभावित भए पनि चालु आर्थिक वर्षको अन्त्यसम्म ६५ प्रतिशत भौतिक प्रगति हासिल गर्ने संशोधित लक्ष्य राखिएको आयोजनाले जनाएको छ।

आयोजनाले वर्षात् सुरु हुनुअघि उत्खनन गरिएका पुराना पिच खण्ड पुनः कालोपत्रे गरी सवारी आवागमनलाई सहज बनाउने कार्यलाई उच्च प्राथमिकता दिएको पनि जनाएको छ।


सम्बन्धित समाचार