Logo

२२ असार,वीरगञ्ज । बाराको पचरौता नगरपालिका–१ अन्तर्गत नेपाल–भारत सीमास्थित जमुनिया खोलाको किनारको झाडीमा एक पुरुषको शव फेला परेको छ। मृतकको पहिचान अझै खुल्न सकेको छैन।

भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले आइतबार साँझ करिब ७:३० बजे सीमावर्ती क्षेत्रमा एक अपरिचित पुरुषको शव फेला परेको जानकारी बाराको पिपरपाती प्रहरी चौकीलाई गराएको थियो। त्यसपछि प्रहरी सहायक निरीक्षक समसुदिन मियाँ तेलीको नेतृत्वमा खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा रहेको ३६३/३० नम्बरको सीमा स्तम्भबाट करिब १५४ फिट पश्चिम–उत्तरतर्फ जमुनिया खोलाको किनारमा रहेको झाडीमा शव फेला परेको हो। मृतक अन्दाजी ३३ देखि ३५ वर्ष उमेर समूहका पुरुष रहेको प्रारम्भिक अनुमान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार प्रारम्भिक अनुसन्धानबाट मृतक भारतीय नागरिक रहेको खुलेको छ। मृतकका आफन्तलाई भारतबाट बोलाइएको उनले जानकारी दिए।

शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, कलैयामा पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार