२२ असार, काठमाडौँ । समाजमा सदियौँदेखि जरा गाडेर बसेको जातीय विभेद र छुवाछूत अन्त्यको सन्देश दिन म्याग्दीको मालिका गाउँपालिकाले एक सराहनीय कदम चालेको छ । गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरी सामाजिक रूपान्तरणमा योगदान पुर्याएका २५ जोडीलाई नगदसहित सम्मान गरेको हो ।
लक्षित समुदाय कार्यक्रमअन्तर्गत विनियोजित बजेटबाट गाउँपालिकाको केन्द्र दरवाङमा आइतबार एक विशेष समारोहको आयोजना गरी ती जोडीहरूलाई प्रतिजोडी ३ हजार ५०० रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको छ ।
समारोहलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले आधुनिक युगमा पनि समाजमा जातीय विभेद विद्यमान रहनु दुःखद भएको बताए । “हाम्रो समाजमा अझै पनि जातीय विभेदको ठुलो अदृश्य पर्खाल छ, जसलाई भत्काउनु आजको आवश्यकता हो,” अध्यक्ष गर्बुजाले भने, “पालिकाका सातवटै वडाबाट दलित समुदायसँग विवाह गरेका ज्येष्ठ नागरिकदेखि युवा जोडीसम्मलाई सम्मान गरेर हामीले समाजलाई विभेदमुक्त बनाउने बलियो सन्देश दिन खोजेका हौँ।”
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुन, प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल, वडाध्यक्षहरू उदयबहादुर बुढाथोकी र पथबहादुर रोका, कार्यपालिका सदस्यहरू प्रतिक्षा रसाइली, दलबहादुर खड्काथोकी तथा वडा नं १ का कार्यवाहक वडाध्यक्ष मानसिंह सापकोटा लगायतको उपस्थिति थियो ।
गाउँपालिकाकी कार्यपालिका सदस्य प्रतिक्षा रसाइलीले अन्तरजातीय विवाह गरेकै कारण आजको दिनमा पनि धेरै जोडीहरूले परिवार र समाजबाट अनेकौँ सामाजिक विभेद तथा अदृश्य हिंसाको सामना गरिरहनुपरेको यथार्थ सुनाइन् । यस्तो अवस्थामा स्थानीय सरकार आफैँले अभिभावकत्व ग्रहण गर्दै पहिलो पटक यस्तो सकारात्मक र सुधारात्मक कार्यक्रम सञ्चालन गर्दा पीडित जोडीहरूले राहत महसुस गरेको उनको भनाइ थियो ।



















