Logo

२२ असार, वीरगञ्ज । गएरातिदेखिको चेतावनीपूर्ण माइकिङ र उच्च सुरक्षा सतर्कताका बीच वीरगञ्जको मुख्य सडक २५/२५ मिटर फराकिलो पार्न आज बिहानैदेखि फेरी डोजर चलाइँदै छ । सडक डिभिजन कार्यालय हेटौँडा र वीरगञ्ज महानगरपालिकाको संयुक्त टोलीले सडक सीमा मिचेर बनाइएका घर, पसल तथा व्यावसायिक भवनहरू भत्काउन थालेका हुन् ।

अदालती प्रक्रिया र स्थानीयको विरोधका कारण केही समय सुस्त बनेको सडक विस्तार कार्यलाई स्थानीय प्रशासनले सुरक्षा घेराभित्र राखेर पुनः अगाडि बढाएको हो ।

महानगरपालिका र सडक डिभिजनको टोलीले आइतबार राति प्रभावित क्षेत्रमा सार्वजनिक सूचना जारी गर्दै माइकिङ गरेको थियो । गएराति ढिलासम्म बजार क्षेत्रमा माइकिङ गर्दै महानगरले सोमबार (आज) बिहानैदेखि डोजर चल्ने भएकाले आ-आफ्नो घर, पसल तथा व्यावसायिक भवनहरू तत्काल खाली गर्न र सुरक्षित स्थानमा जान आग्रह गरेको थियो ।

“भवन भत्काउँदा हुन सक्ने भौतिक तथा मानवीय क्षतिलाई न्यूनीकरण गर्न र बहुमूल्य सामानहरू जोगाउन राति नै माइकिङ गरेर अन्तिम चेतावनी दिइएको हो,” महानगर स्रोतले भन्यो । सूचना पाएपछि कतिपय व्यवसायी र घरधनीहरूले रातभरि नै सामान सारेका थिए ।

अघिल्ला दिनहरूमा ‘वीरगञ्ज बचाउ संघर्ष समिति’ को अगुवाइमा टायर बालेर प्रदर्शन र ढुङ्गामुढा समेत भएपछि सम्भावित तनावलाई मध्यनजर गर्दै मुख्य सडक क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उपस्थिति गराइएको छ । अहिले गण्डक चोकमा डोजर चलाइएको ठाउँमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ।

गण्डक चोकदेखि मितेरी पुलसम्मको व्यापारिक हब मानिने यो सडक विस्तार गर्ने कि नगर्ने भन्ने विवाद करिब तीन दशकदेखि चल्दै आएको थियो । गत फागुनमा सर्वोच्च अदालतले स्थानीय घरधनीहरूले दायर गरेको रिट खारेज गरेसँगै सडक चौडा पार्ने कानुनी बाटो खुलेको थियो ।

लामो समयदेखि मुआब्जा र वैकल्पिक व्यवस्थापनको माग गर्दै आन्दोलनरत संघर्ष समितिले भने बिना क्षतिपूर्ति र ठोस योजना नागरिकलाई उठीबास लगाउन खोजिएको भन्दै आपत्ति जनाइरहेको छ । उता, महानगरपालिकाले भने वीरगञ्जलाई आधुनिक, व्यवस्थित र ट्राफिक जाममुक्त शहर बनाउन मुख्य सडक विस्तार अपरिहार्य रहेको भन्दै पछि नहट्ने अडान लिएको छ ।


सम्बन्धित समाचार