Logo

२२ असार, काठमाडौँ । उत्तर भारतमा विगतदेखि नै चर्चा र विवादमा रहँदै आएको ‘पकडुवा विवाह’ को प्रथा फेरि ब्युँतिएको छ। आफ्नी प्रेमिकालाई भेट्न रातिको समयमा उनको घर पुगेका एक युवकलाई युवतीका परिवारका सदस्यहरूले नियन्त्रणमा लिई जबर्जस्ती विवाह गराइदिएको घटना सार्वजनिक भएको हो ।

यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि भारतमा यस कुप्रथामाथि पुन: कानुनी र सामाजिक बहस सुरु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार राति ती युवकलाई उनकी प्रेमिकाले भेट्नका लागि आफ्नै घरमा बोलाएकी थिइन् । प्रेमिकाको आग्रहमा उनी घर पुगेलगत्तै युवतीका परिवारका सदस्य, आफन्त र छिमेकीहरूले उनलाई घेराउ गरेका थिए । युवकले केही बुझ्नै नपाउँदै उनलाई नियन्त्रणमा लिएर विवाहका लागि मानसिक तथा शारीरिक दबाब दिइयो ।

त्यसलगत्तै युवकको इच्छा विपरित स्थानीय मन्दिर र पारिवारिक उपस्थितिमै पण्डित बोलाएर जबर्जस्ती सिन्दुर हाल्न लगाई विवाह सम्पन्न गराइएको थियो ।

पीडित युवकले आफूलाई प्रेमिकाकै सहयोगमा योजनाबद्ध रूपमा फसाएर, बन्धक बनाई विवाह गर्न बाध्य पारिएको दाबी गरेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा समेत युवक रोइरहेको र युवतीका आफन्तहरूले उनलाई जबर्जस्ती विवाहको मण्डपमा बसालेको स्पष्ट देखिन्छ ।

घटनाको भिडियो भाइरल भई सर्वत्र आलोचना भएपछि स्थानीय प्रहरीले यस मामिलामा सक्रियता देखाएको छ। प्रहरीले घटनाको प्रारम्भिक विवरण सङ्कलन गरिसकेको र दोषीहरू विरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

के हो ‘पकडुवा विवाह’ ?

‘पकडुवा विवाह’ विशेष गरी भारतको बिहार र उत्तर प्रदेशका केही ग्रामीण क्षेत्रमा विगत लामो समयदेखि अभ्यासमा रहेको एक गैरकानुनी प्रथा हो । यस अन्तर्गत दाइजो नतिर्नका लागि वा मन परेको योग्य युवकलाई अपहरण गरेर वा विभिन्न दबाबमा पारेर जबर्जस्ती विवाह गराइन्छ ।

यद्यपि, भारतीय कानुन र अदालतले यस्ता विवाहलाई पूर्ण रूपमा अवैध र आपराधिक कसुर (अपहरण तथा बन्धक) को रूपमा परिभाषित गरेको छ । पछिल्ला वर्षहरूमा प्रहरीको कडा निगरानी, कानुनी कारबाही र सामाजिक चेतनाका कारण यस्ता घटनामा निकै कमी आएको थियो । यद्यपि, प्रेमिकासँग सम्बन्धित भनिएको हालैको यो पछिल्लो घटनाले कानुनी राज्य र सुरक्षा व्यवस्थामाथि पुनः गम्भीर प्रश्न खडा गरिदिएको छ, यसबारे अहिले स्थानीय प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ।


सम्बन्धित समाचार