२२ असार,चितवन । भरतपुर अस्पतालले सघन उपचार कक्ष (आईसीयू) सेवामा पारदर्शिता, निष्पक्षता र सहज पहुँच सुनिश्चित गर्न प्रतिक्षारत बिरामीको विवरण विद्युतीय सूचना पाटी (डिस्प्ले बोर्ड) मार्फत सार्वजनिक गर्ने व्यवस्था लागू गरेको छ।
अस्पतालले आईसीयू शय्या उपलब्ध भएपछि सम्बन्धित बिरामी वा उनका आफन्तलाई मोबाइल फोनमा सन्देश (एसएमएस) पठाएर जानकारी दिने प्रणालीसमेत सुरु गरेको जनाएको छ। अस्पतालका अनुसार आईसीयूका शय्या प्रायः खाली नहुने भएकाले प्रतीक्षारत बिरामी सेवाबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो।
भरतपुर अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाले आईसीयूजस्तो अति संवेदनशील सेवामा पारदर्शिता, निष्पक्षता र चिकित्सकीय प्राथमिकताका आधारमा सेवा सुनिश्चित गर्न नयाँ प्रणाली कार्यान्वयनमा ल्याइएको जानकारी दिए।
नयाँ व्यवस्थाअनुसार अस्पतालको आकस्मिक सेवा (इमरजेन्सी) काउन्टरबाट आईसीयू भर्नाका लागि आवश्यक विवरण प्रणालीमा प्रविष्ट गरिनेछ। त्यसपछि प्रतिक्षारत बिरामीको विवरण डिस्प्ले बोर्डमा देखिने र शय्या उपलब्ध हुनासाथ सम्बन्धित पक्षलाई एसएमएसमार्फत सूचना पठाइनेछ।
अस्पतालले यस व्यवस्थाले आईसीयू शय्याको उपलब्धतासम्बन्धी जानकारी सहज बनाउनुका साथै चिकित्सकीय प्राथमिकता र निर्धारित प्रक्रियाअनुसार सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।



















